१६ वर्षअघिको पुल नबन्दा यात्रुले निकै हैरानी व्यहोर्दै

करिब १६ वर्षअघि काम सुरु भएको कर्णाली राजमार्गको जाक्सीखोला पुल निर्माणको काम सम्पन्न नहुँदा कर्णाली राजमार्गमा यात्रा गर्ने यात्रुले निकै हैरानी व्यहोर्दै आएका छन्।

कर्णाली राजमार्गको समग्र स्तरोन्नतिको कामसमेत प्रभावकारी हुन सकेको छैन।

लाखौँ खाल्डाखुल्डी भएको सडकमा उचालिँदै पछारिँदै यात्रा गर्नुपर्ने बाध्यता रहेको आठबिस नगरपालिकाका नगर प्रमुख तर्कबहादुर बडुवालले सुनाए।

कर्णाली प्रदेशको आर्थिक अवस्था सुधार हुने भनिएको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको समेत अहिलेसम्म कुनै काम हुन सकेको छैन।

‘अनि कसरी दैलेख पश्चिमको विकास हुन्छ ?’ बडुवालले प्रश्न गरे।

राकममा बन्दै गरेको नयाँ सहर आयोजनासमेत १५ वर्षदेखि सुरुवाती चरणमा मात्रै छ।

उनले थपे, ‘कहिले नयाँ सहर बन्छ र पहाडका मानिसको बसाइँसराइ रोकिन्छ ?’ केन्द्र सरकारले यो विषयमा ध्यान नदिएको बडुवालको गुनासो छ।

कर्णाली राजमार्गसँगै दैलेखदेखि कर्णालीको माथिल्लो क्षेत्रका पाँच जिल्ला कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा जोड्ने सडकका रूपमा लिइएका दुईवटा त्रिदेशीय सडक खण्डका कामहरूसमेत प्रभावकारी हुन सकेको छैन।

माथिल्लो ढुंगेश्वर दुल्लु, बेहुली हुँदै बैंक सडक र दैलेख सदरमुकाम महावु–गाल्जे हुँदै जुम्ला सडकको दैलेख खण्डका कामहरू प्रभावकारी हुन सकेका छैनन्।

जिम्मेवारी लिएका निर्माण कम्पनीहरूमध्ये धेरैजसो काम छाडेर भागेको अवस्था छ।

दैलेखका ठूला विकासका कामहरू लथालिंग बनाउने निर्माण कम्पनीहरूलाई तत्कालै कारबाही गर्नुपर्ने कर्णाली प्रदेश सभाका सदस्य घनश्याम भण्डारी र प्रतिनिधिसभा पूर्वसांसद रवीन्द्रराज शर्मा बताउँछन्।

दैलेख खण्डमा पर्ने मध्यपहाडी राजमार्गको एक सय २६ किलोमिटर सडक खण्डमध्ये कतिपय स्थानमा प्रभावकारी काम नभएको भन्दै अदालती प्रक्रियाको थालनी गर्नुपर्ने जिल्लावासीको माग छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *