एक वर्ष अघि नेपाल आएको चिनियाँ प्राविधिक टोलीले डिजाइनको काम टुंग्याउन नसकेको हो ।
अहिलेसम्म यसबारे केही नयाँ अपडेट नरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सहसचिव भीमार्जुन अधिकारीले बताए ।
‘चिनियाँ टोली हामीले समन्वय गर्ने तहमा आइसकेका छैनन्,’ उनले भने, ‘डीपीआर पनि फाइनल भइसकेको छैन ।’
यस विषयमा तीन साताअघि चिनियाँ दूतावासका काउन्सिलरसँग बैठक भएको र यसबारे चीन सरकारको मन्त्रिपरिषद्मा पुर्याएर निर्णय गर्ने तयारीमा रहेको जानकारी आएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले जनाए ।
‘कस्तो सडक बनाउने भन्नेबारे चीन सरकारसँग समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ, हाम्रो पक्षबाट ढिलाइ भएको छैन ।
पहिला साइट क्लिउर गर्न केही ढिलाइ भएको थियो,’ उनले भने, ‘अहिले समस्या छैन, डीपीआर बनेपछि निर्माणका लागि सम्झौता हुन्छ ।’
अहिले चिनियाँ पक्षबाटै ढिलाइ भइरहेको ढकालको भनाइ छ ।
नेपाल सरकारबाट बनाउनुपर्ने नाली, सर्भिस लेन निर्माणको काम भइरहेको छ ।
‘डीपीआर सकिएको भए अहिलेसम्म निर्माणको काम सुरु भइसक्थ्यो,’ उनले भने, ‘बढीमा ६ महिनाभित्र डिजाइन सक्ने कुरा भए पनि अहिलेसम्म पाउन सकिएको छैन ।’
कलंकीदेखि बसुन्धरासम्म ७ वटा प्याकेजमा ठेक्का गरेर सर्भिस लेनलगायतका संरचना निर्माणको काम भइरहेको छ ।
अहिले जथाभावी सडक भत्काएर काम गर्दा यो खण्ड धुलाम्मे बनेको छ ।
सडकका दुवै खण्डको वारिपारि सर्भिस लेन निर्माणका लागि खनेर माटो थुपार्दा ट्राफिक जाम हुने गरेको छ ।
चक्रपथ विस्तारअन्तर्गत नेपाल सरकारले चीनसँग कलंकीदेखि चाबहिलस्थित धोबीखोला पुलसम्मको ११.६ किमि सडक नै विस्तार गर्न सुरुमै आग्रह गरेको थियो ।
चीनसँग सन् २०१८ मा भएको जीटूजी सम्झौतामा भने बसुन्धरासम्म मात्र सडक विस्तार भनिएको थियो ।
सोहीअनुसार चीनले कलंकीदेखि बसुन्धरा कल्भर्टसम्म मात्र विस्तारको काम गर्नेछ , उसको दूरी ८.२ किमि छ ।
डीपीआर टुंगिएपछि चीनसँग सम्झौता गरेर उसैले निर्माण गर्ने गरी काम थालिने जनाइएको छ ।
नेपाल सरकारले दोस्रो चरणमै कलंकीदेखि धोबीखोला (चाबहिल) सम्म निर्माण गर्न माग गरेको थियो ।
चीनले भने यसलाई तेस्रो खण्डमा काम गर्ने उल्लेख गर्दै आएको छ ।
कलंकीदेखि सीतापाइलासम्म अहिले चार लेन र सीतापाइलादेखि चक्रपथ खण्डमा दुई लेन सडक छ ।
यसलाई अब ८ लेनमा विस्तार गर्न लागिएको हो । चक्रपथ विस्तारमा नेपाल सरकारको स्रोतबाट निर्माण गर्नुपर्ने कामका लागि चालु आर्थिक वर्षमा २ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
नाली, सर्भिस लेन निर्माणलगायतको काम गर्न यो बजेट व्यवस्थापन गरिएको हो ।
यसअघि चक्रपथ विस्तारको पहिलो खण्ड कोटेश्वर–कलंकीसम्म १०.३९ किमि सडक चीनले नै ८ लेनमा विस्तार गरिदिएको हो, जुन खण्ड विस्तार गरेर ०७५ माघमा चीनले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।