चक्रपथ विस्तारको डीपीआरबारे अन्योल

चक्रपथ दोस्रो खण्ड विस्तारको विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयारी पार्ने भनेको एक वर्ष बित्दा पनि अझै चिनियाँ कम्पनीले पूरा गर्न सकेका छैनन् ।

कहिले डीपीआर बन्छ भन्नेबारे अन्योल कायमै छ । समयमै डीपीआर नबन्दा विस्तारको कामले गति लिन सकेको छैन ।

चीन सरकारको अनुदानमा चक्रपथ दोस्रो खण्ड (कलंकी–बसुन्धरा) को विस्तार गर्न लागिएको हो ।

दुई महिनाभित्र तयार पार्ने भन्दै ०७९ फागुनमा डीपीआरको जिम्मा चीनको हेनान कम्युनिकेसन्स प्लानिङ एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीका प्राविधिक टोलीले लिएका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दुई महिनाभित्र डिजाइनको काम सकिने जनाएको थियो । तर अझै डिजाइन फाइनल हुन सकेको छैन ।

अहिलेसम्म डीपीआर निर्माणमा कुनै प्रगति नभएको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख विजय जैसीले पुष्टि गरे ।

‘चिनियाँ प्रतिनिधि टोली फेरि नेपाल नआई डीपीआरको थप काम अघि बढ्दैन,’ उनले भने, ‘डीपीआर भएपछि कति लागत लाग्ने थाहा हुन्छ, त्यसपछि मात्र ठेक्काको काम अघि बढ्छ ।’

एक वर्षअघि नेपाल आएको चिनियाँ प्राविधिक टोलीले डिजाइनको काम टुंग्याउन नसकेको हो ।

अहिलेसम्म यसबारे केही नयाँ अपडेट नरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सहसचिव भीमार्जुन अधिकारीले बताए ।

‘चिनियाँ टोली हामीले समन्वय गर्ने तहमा आइसकेका छैनन्,’ उनले भने, ‘डीपीआर पनि फाइनल भइसकेको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *