२०औं संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड होटल याक एण्ड यतिको लाल दरबार हलमा यही माघ २८ गते हुने भएको छ ।
विभिन्न ९ विधामा हुने अवार्ड कार्यक्रमको पिपल्स च्वाइस विधाको मनोनयनमा पर्ने खेलाडीको नाम सार्वजनिक भइसकेको छ ।
त्यसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ पिपल्स च्वाइसको प्रतिस्पर्धामा छन् ।
यस विधाको विजेता ई–सेवा भोटिङ, मञ्चका सदस्यको मत, सामाजिक सञ्जाल (एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजबाट गर्नुपर्ने) बाट मत र २७ खेलका प्रमुख प्रशिक्षकको मतका आधारमा हुनेछ ।
पल्सर स्पोर्ट्स अवार्ड २०७९ का लागि प्रदान गरिने अन्य विधामा १. उत्कृष्ट वर्ष पुरुष खेलाडी, २. उत्कृष्ट वर्ष महिला खेलाडी, ३. उत्कृष्ट वर्ष प्रशिक्षक, ४. उत्कृष्ट वर्ष युवा खेलाडी ५. पारा एथलिट सम्मान, ६. स्पेसल अवार्ड, ७. लाइफटाइम एचिभमेन्ट अवार्ड र ८. एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेको छ ।
वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पाउनेछन् ।
अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर पाउनेछन् । वर्ष खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षकको मनोनयन केही दिनमै सार्वजनिक गरिनेछ ।
मनोनयन नहुने विधा लाइफटाइम, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड पाउने व्यक्तित्वको घोषणा कार्यक्रमकै दिनमा गरिनेछ ।
यस वर्ष पनि एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकको रूपमा हंशराज हुलासचन्द एन्ड कम्पनीको बजाज पल्सर मोटरसाइकल रहनेछ ।
अन्य सह–प्रायोजक तथा सहयोगीमा ई–सेवा, सूर्य नेपाल प्रालि, सुबिसु, प्लाजा गु्रप अफ होटल, रोयल सिंगी होटल, लालपूर्जा नेपाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) रहेका छन् ।