२५ अर्बमा बन्दै छ नागमतीमा बाँध

नागमती क्षेत्रमा जलाशययुक्त बाँध बनाउँदा काठमाडौंको गोकर्णेश्वरस्थित नागमती क्षेत्रका सानाठूला गरी ८० हजार रुख कटान गरिने भएको छ ।

बागमती तथा आसपासका नदीमा पानी प्रवाह गर्न दुई वर्षपछि एसियाली विकास बैंकको २५ अर्ब सहुलियत ऋणमा नागमतीमा बाँध बनाउन लागिएको हो ।

बाँध निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए) स्वीकृतिको चरणमा छ ।

यसका लागि एसियाली विकास बैंकसँग सफ्ट लोन सम्झौता पनि भइसकेको छ ।

सात वर्षमा सक्ने गरी बागमती सभ्यता एकीकृत विकास समिति सिँचाइ इकाइले नागमतीमा बाँध बनाउने प्रक्रिया अघि बढाइरहेको छ ।

बागमती सुधार आयोजना सिँचाइ इकाइ प्रमुख निश्चल छत्कुलीले यो बाँध बनेपछि उपत्यकामा हुने पानीको अभाव वा संकट हट्ने र यसको बहुआयामिक फाइदा हुने बताए ।

उनका अनुसार नागमती निर्माण गर्दा आठ हजार ठूला र करिब ७२ हजार साना रुख (बुट्यान रुख) कटान गरिनेछ ।

तर, रुख कटान गरे पनि वातावरणीय रूपमा असर नपर्ने अध्ययन भइसकेको इकाइ प्रमुख छत्कुलीको भनाइ छ ।

कटान गरिने सबै रुख नागमती बाँध बनाउन चाहिने जग्गाभित्रका पर्नेछन् । बाँधले ओगट्ने क्षेत्रभन्दा बाहिरका रुख भने कटान गरिनेछैन ।

निर्माण गर्दा आसपासका केही रुख कटान गर्नुपरेमा त्यहाँ थप रुख रोपिनेछ ।

‘यसभन्दा माथिल्लो तटमा निर्माण भइसकेको बागमती बाँध बागमती नदीकेन्द्रित हो, तर नागमती योभन्दा पनि बहुउपयोगी छ ।

यसबाट यस क्षेत्रको पर्यटन विकास मात्रै नभएर उपत्यकामा पर्न सक्ने पानीको संकट हट्छ, विद्युत्, सिँचाइ, खोला र अन्य आवश्यकतामा पानीको प्रयोग गर्न सकिन्छ,’ उनले भने, ‘यो जलविद्युत् उत्पादन गर्ने योजना पनि हो ।’

नागमती ड्याम निर्माण सम्पन्न हुन करिब सात वर्ष लाग्ने अनुमान गरिएको छ ।

नागमती क्षेत्रका दुईवटा पहाडको पाँच सय ५३ मिटर दूरीलाई जोडेर प्राकृतिक रूपमा रहने गरी नागमती ड्याम निर्माण हुनेछ ।

यसआसपासलाई पर्यटकीय विकासमा कसरी प्रयोग गर्ने भन्नेबारे सरकारले थप योजना पनि तय गर्नेछ ।

नागमती बाँध निर्माणको औपचारिक काम सन् २०२५ को जुनबाट सुरु हुनेछ ।

यसमा एक करोड ८० लाख घनमिटर पानी अट्नेछ । इकाइ प्रमुख छत्कुलीका अनुसार वातावरणका दुईवटा मुद्दा हुन्छन् त्यो भनेको एउटा ‘ग्लोबल’ र एउटा ‘लोकल’ ।

नागमती बाँध स्थानीय समस्या समाधानका लागि बनाउन लागिएको हो ।

यो बाँध बन्ने क्षेत्र ४८ हेक्टर (९६० रोपनी)मा फैलिएको छ । हाल सो क्षेत्रफलमा रुखैरुख छन् ।

बाँध निर्माणको काम सुरु भएपछि पहिलो चरणमा रुख कटान गरिनेछ ।

नागमतीको बाँधबाट प्रतिसेकेन्ड चार सय ४० लिटर पानीबाट ४ मेगावाट जलविद्युत् उत्पादन गर्न सकिने अनुमान गरिएको छ ।

जलविद्युत्, खानेपानी, कृषि र बागमती नदीलगायत प्रयोगमा नागमती बाँधको पानी प्रयोग हुनेछ ।

गत वर्ष फागुनमा निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको बागमती धाप बाँधभन्दा चार किलोमिटर दूरीको फरकमा रहेको नागमती शिवपुरी क्षेत्रमै पर्छ ।

तर, यस प्रकारको जलाशययुक्त पोखरीले अन्य जलाधार क्षेत्र र वातावरणमा असर नपर्ने बागमती आयोजना सिँचाइ इकाइको ठहर छ ।

एडिबीको सहुलियत ऋणमा सिँचाइ इकाइले ९५.५ मिटर अग्लो नागमती बाँध बनाउनेछ ।

समुद्री सतहबाट झन्डै दुई हजार एक सय मिटरमा रहेको नागमती क्षेत्रमा पानीका मूलमुहान प्रसस्त मात्रामा छन् ।

त्यही पानी र आकाशेपानी बाँधमा संकलन गर्न सकिनेछ र आवश्यकताअनुसार प्रवाह गर्न सकिनेछ ।

वातावरणविद् भूषण तुलाधरले बाँध बनाउन रुख काटिनु स्वाभाविक रहेको बताए ।

‘पानीको स्रोतका लागि र वातावरणीय हितका लागि हो भने रुख काटेर पनि बनाउनुपर्छ, तर कस्तो–कस्तो रुख कटौती गर्दै छ त्यसमा भने ख्याल गर्नुपर्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *