सरकारी नीति अव्यावहारिक हुँदा वास्तविक किसान उपेक्षित
बिहानै ४ बजे उठेर ढिँकी जातो गर्ने हाम्रो परम्परामा अहिले विस्तारै परिवर्तन आएको छ । पल्लाघरे दाईले धानको बोरा साईकलमा राखेर नजिकैको मिलमा गएर चामल लिएर आउने भए ।
माथिल्लाघरे साईलीआमाको घण्टौं लगाएर गाग्रीमा पानी बोकेर ल्याउनुपर्ने वाध्यता पनि केहि हदसम्म हटिसकेको छ ।
आधुनिक पानी तान्ने मोटरको माध्यमबाट तल पधेँराको पानी एउटा स्विच दबाउने बित्तिकै घरमै आउने भएको छ ।
माईलाकाका पनि दिनभरी गोरुलाई नारेर हलो जोत्ने काम छोडी अहिले सानो चिटिक्कको मिनिटिलरमा पेट्रोल हालेर खेतबारी जोत्न थालेका छन् ।
डाँडाघरे साईलो पनि आजभोली टाउकोमा नाम्लो लगाएर भारी बोक्ने काम छोडेर ट्याक्टरमा कृषि उपज ओसार्न थालेका छन् ।
हातको माध्यमबाट हसियाले धान तथा गहुँ काट्ने ठाउँमा अहिले रिपर भन्ने मेसिनको प्रयोग बढ्दै गएको छ ।
हुँदा हुँदा छुपु र छुपु हिलोमा धान रोप्ने हातहरुको ठाउँमा पनि अहिले राइस प्लान्टर मेसिनले धान रोप्न थालिसके ।
खन्ने, जोत्ने, गोड्ने, माड्ने, सप्किने जस्ता थुप्रै कामहरु अब ट्रेक्टर तथा अन्य यन्त्र तथा उपकरणबाट हुन थालेका छन् ।
पशुपालक किसानहरुले पनि घाँसलाई काटेर टुक्रा पार्न चाफ मेसिन (चारा मेसिन), माछापालक किसानले पानीमा अक्सिजन मिलाउने मेसिन, कुखुरापालक किसानले पेलेट मेसिन लगायत कफि पल्पर मेसिन, पिएच मिटर लगायत विषादि छर्ने ड्रोन समेत प्रयोग गर्न थालेका छन् ।
६० प्रतिशत भन्दा बढी नेपालीहरुको प्रमुख आयको स्रोत कृषि पेशा नै हो । यहि पेशा गरी हाम्रा पुर्खाहरुले हामीलाई आजको दिनसम्म ल्याइपुर्याएका हुन् ।
श्रम बढी लाग्ने तर उत्पादन कम हुने खालका हाम्रा परम्परागत कृषि अभ्यासलाई धेरै हदसम्म आधुनिक मेसिन, उपकरण तथा यन्त्रको माध्यमबाट कम श्रममा बढी उत्पादन दिने भएका छन् ।
विशेषतः पहाडमा भन्दा तराई तथा समथर भुभागमा पहिले देखि नै आधुनिक यन्त्र तथा उपकरणको प्रयोग बढी हुने गरेको हो ।
तर हिजोआज पहाडि भुभागमा पनि कृषि यन्त्रको प्रयोग बढेको पुर्वाञ्चल एग्रो सोलुसन्स, इटहरीका निर्देशक दुर्गेशराज धामी बताउँछन् ।
उनका अनुसार जोत्न र ढुवानी गर्न तराईमा ट्याक्टरको प्रयोग धेरै हुने गरेकोमा आजभोली पहाडि क्षेत्रमा मिनिटिलरको प्रयोग बढेको छ ।
पहिले पहिले प्रशस्त जग्गा जमिन हुनेले मात्र किन्न सक्ने ट्याक्टर आजभोली बैंक कर्जाको सहज व्यवस्थाले गर्दा साना किसानहरुले पनि प्रयोग गर्ने गरेको बताउँछन् लिला ईन्टरनेशनल, नेपालगञ्जका सँचालक सरोज श्रेष्ठ ।
सरकारले पनि अन्य सवारीसाधनमा जस्तो भन्सार तथा अन्य कर नलिएर सहुलियत दिएकाले पनि ट्याक्टरको प्रयोग बढेको उनको भनाई छ ।
ट्याक्टरको प्रयोग गरेर जोत्ने, ढुवानी गर्ने, धान तथा गहुँ काट्ने, माढ्ने जस्ता कामहरु हुने गरेका छन् । आजभोली त आलु लगाउन र खन्न पनि ट्याक्टरमा छुट्टै उपकरण फिट गरेर काम गर्ने गरिन्छ ।
सामान्यतयाः एउटा ट्याक्टर करिब १० लाख देखि १५ लाखसम्ममा पाईन्छ ।
ठुला ट्याक्टर किन्न नसक्ने वा थोरै जग्गा भएका किसानहरुले पावरटिलरको प्रयोग गर्ने गरेका हुन्छन् ।
करिब १ लाख पचास हजार देखि २ लाख ४० हजार सम्ममा पाईने पावरटिलरले आकार र काम गर्ने क्षमता कम भए पनि ट्याक्टरले जस्तै वहुआयामिक काम गर्न सकिने विटिएल ट्रेड, ललितपुरका सँचालक स्वयंभुकृष्ण श्रेष्ठ बताउँछन् ।
विगत दुई दशक देखि सिधै चिनबाट कृषि यन्त्र, उपकरण तथा औजारहरु आयात गरेर नेपालका विभिन्न शहरमा डिलर मार्फत बिक्री गर्दै आएको विटिएल ट्रेडले त्यस्ता यन्त्रहरुको सँचालन र मर्मतको लागि विभिन्न सँस्थाहरुसँग मिलेर तालिमको समेत आयोजना गर्ने गरेको सँचालक श्रेष्ठले बताए ।
किसानलाई गुणस्तरीय सामान दिनु र बिक्रि पछिको उत्कृष्ट सेवा आफ्नो लक्ष रहेको श्रेष्ठको भनाई छ ।
अनुदानमा सरकारको अव्यावहारिक नीति
सरकारले कृषि क्षेत्रको विकासका लागि किसानहरुलाई यस्ता विभिन्न कृषि यन्त्र, उपकरण तथा औजारहरुमा अनुदानको व्यवस्था गरेपनि अव्यावहारिक नीतिका कारण किसानले यथोचित फाईदा लिन नसकेको आम किसानको गुनासो छ ।
किसानले आफुले चाहेको यन्त्र वा उपकरण आफ्नो क्षमता, उपयुक्त गुणस्तर हेरेर किन्न पाउनुपर्नेमा अन्य विकास निर्माणमा गरिने ठेक्कापट्टा जस्तो तवरले एकमुष्ट टेण्डर गर्दा कम गुणस्तरका सामान वितरण भएको पाईएको विटिएल ट्रेड प्रालिका सँचालक स्वयंभुकृष्ण श्रेष्ठको गुनासो छ ।
सरकारले त्यस्ता वस्तुको गुणस्तरको मापदण्ड बनाउनुपर्ने उनको भनाई छ ।
आवश्यक प्राविधिक पनि नहुने, बिक्री पछिको सेवा पनि नहुँदा धेरै किसानले अनुदानमा पाएका कृषि यन्त्र तथा उपकरणहरु बिग्रेपछि थन्काएर राख्नुपरेको वाध्यता सुनाउँछन् व्यवसायी श्रेष्ठ ।
कुनै पनि टेण्डरमा जसले कम मुल्यको कोटेशन हाल्यो, उसैले बिक्रि वितरण गर्ने जिम्मा पाउँने सरकारी नीति हुँदा कमसल गुणस्तरका सामान वितरण भएको बताउँछन् नेपाल कृषि मेसिनरी व्यवसायी संघका महासचिव कृष्ण शर्मा ।
महासचिव शर्माका अनुसार व्यवस्थित पसल राखेर विभिन्न शाखा तथा डिलर मार्फत गुणस्तरीय सामान वेच्ने विक्रेताले भन्दा कहिलेकाहिँ आयात गरेर कम गुणस्तरका सामान बेच्ने विक्रेताले कम मुल्यमा टेण्डर हात पारेको देखिन्छ ।
त्यस्ता व्यवसायीसँग न प्राविधिक हुन्छन् न त बिक्रि पछिको सेवा नै हुन्छ भन्दै व्यवसायी शर्माले सरकारले सस्तोको पछाडि नलागेर गुणस्तरको मापदण्ड बनाउनुपर्ने धारणा राख्छन् ।
अर्को महत्पुर्ण कुरा भनेको वास्तविक किसानले भन्दा पनि टाठोबाठोले मात्रै अनुदान हत्याउने परम्परालाई सुधार गर्दै दुरदराज र विकट क्षेत्रका किसानलाई प्राथमिकता दिनुपर्ने महासचिव शर्माको धारणा छ ।
हरेक बैंकलाई बिनाधितो वा धितोसहित केहि निश्चित कर्जा कृषिमा लगानी लगाउनुपर्ने भन्ने राष्ट्र बैंकको नीति कार्यान्वयन हुनुपर्ने बताउँदै महासचिव शर्माले कृषिप्रधान देश भएपनि कृषि क्षेत्रप्रति सरकारको ध्यान कम गएकोमा दुख लागेको बताए ।
—शंकर शर्मा