टोयोटाले २०२३ मा बेच्यो इतिहासकै सबैभन्दा धेरै कार

जापानी कार निर्माता कम्पनी टोयोटाले २०२३ को ११ महिनामा इतिहासकै सबैभन्दा धेरै कार बिक्री गरेको छ।

विद्युतीय कारको दबदबा बढ्दै जाँदा सीमित संख्यामा विद्युतीय कार बिक्री गरेको टोयोटाले हालसम्मकै धेरै कार बिक्री गरेको हो।

टोयोटाले २०२३ को ११ महिनामा विश्वभर ९३ लाख ६० हजार कार बिक्री गरेको हो।

टोयोटाले २०२२ को ११ महिनामा ९२ लाख ३० हजार वटा कार बिक्री गरेको थियो। २०२३ को ११ महिनाको कुल बिक्री संख्या नयाँ कार बिक्रीमा कोसेढुंगा कायम भएको छ।

२०२३ को अन्त्यसम्ममा टोयोटाको विलासी ब्रान्ड लेक्ससकोसमेत बिक्रीलाई गणना गर्दा टोयोटाको कुल बिक्री १ करोडभन्दा बढी हुने निश्चित छ।

गएको महिना उत्तर अमेरिका र युरोपमा टोयोटाका कार बिक्री उल्लेख्यरुपमा बढेकाले उक्त सफलता हात पारेको हो।

नोभेम्बरमा टोयोटाले ९ लाख २६ हजार ५ सय ७३ वटा कार उत्पादन गरेको हो। उक्त संख्यामध्ये ६ लाख ११ हजार ६ सय ५६ वटा कार टोयोटाले जापानभन्दा बाहिर उत्पादन गरेको हो।

जापानी सञ्चार माध्यमका अनुसार टोयोटाले २०२३ नोभेम्बरमा संसारभर ९ लाख ५ हजार ६६ वटा कार खुद्रा बिक्री गरेको थियो।

यो बिक्री गत वर्षको सोही अवधिको तुलनामा १३.६ प्रतिशत बढी हो। महिनागत बिक्री संख्यामा पनि २०२३ को नोभेम्बरको बिक्री संख्या हालसम्मकै उच्च हो।

जापानमा पनि टायोटाको कार बिक्री नोभेम्बरमा १ लाख ३९ हजार ७ सय ४९ वटा बिक्री भएको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७.१ प्रतिशत धेरै हो।

विश्व बजारमा टोयोटाको बिक्री वृद्धि ११ प्रतिशतले बढेर ७ लाख ६५ हजार ३ सय १७ वटा पुगेको छ।

त्यस्तै टोयोटाको विद्युतीय कार बिक्री पनि उल्लेख्यरुपमा बढेको छ। गत वर्षको तुलनामा टोयोटाको विद्युतीय कार बिक्री ५३.४ प्रतिशतले बढेर ३ लाख ४३ हजार ९ सय ८१ वटा बिकेको छ।

२०२३ को जनवरीदेखि नोभेम्बरसम्मको ११ महिनामा टोयोटा र लेक्ससको गरी विश्वभर कुल ९३ लाख ६७ हजार ४० वटा कार बिक्री भएको तथ्यांक छ।

टोयोटाले यसअघि २०१९ मा वार्षिकरुपमा सबैभन्दा धेरै कार बिक्रीको रेकर्ड कायम गरेको थियो।

उक्त वर्ष टोयोटाले विश्वभर ९७ लाख १४ हजार २ सय ५३ वटा कार बिक्री गरेको थियो।

अहिलेसम्मको बिक्री तथ्यांकका आधारमा २०२३ मा उक्त रेकर्ड ब्रेक हुने निश्चित छ।

२०२२ मा टोयोटाले विश्वभर ९५ लाख ६७ हजार १ सय ८४ वटा कार बिक्री गरेको थियो।

२०२३ मा जापानसहित विश्वभर टोयोटाको उत्पादन तथा बिक्री संख्यामा कम्पनीलाई ऐतिहासिक सफलता हात लाग्ने भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *