हुन्डाईले कम मूल्यको आयोनिक टू विद्युतीय कार ल्याउने

दक्षिण कोरियाली कार उत्पादक कम्पनी हुन्डाई विद्युतीय कार उत्पादनमा आक्रामक छ।

प्रिमियम मूल्यका विद्युतीय कार उत्पादन गरिरहेको हुन्डाई अब ‘मास मार्केट’ केन्द्रित हुने भएको छ।

मास मार्केटका लागि हुन्डाईले कम मूल्यका विद्युतीय कार उत्पादन गर्ने भएको हो। कम्पनीले २० हजार युरो मूल्य हुनेगरी नयाँ विद्युतीय कार उत्पादन गर्ने जनाएको छ।

हुन्डाईले कम मूल्यको नयाँ विद्युतीय कारको नाम आयोनिक टू राख्ने भएको छ। हाल हुन्डाईले आयोनिक फाइभ र आयोनिक सिक्स नाममा विद्युतीय कार बिक्री गरिरहेको छ।

हुन्डाईको आयोनिक फाइभ नेपाली बजारमा समेत उपलब्ध रहेको छ। त्यस्तै हुन्डाईको कोना विद्युतीय कार पनि रहेको छ।

विद्युतीय कार हुन्डाईले राम्रै सफलता हासिल गरिरहेको छ। गएको दुई वर्षमा विश्व बजारमा हुन्डाईको विद्युतीय कार निर्यात सतप्रतिशतले बढेको छ।

२०२२ मा हुन्डाईले २ लाख १८ हजार विद्युतीय कार विश्वभर निर्यात गरेको थियो।

विश्व बजारमा विद्युतीय कारको माग बढ्दै गएकाले हुन्डाईले पहिलो चरणमा कम मूल्यको विद्युतीय कार युरोपेली बजारमा सार्वजनिक गर्नेछ।

आयोनिक टू युरोपमा सार्वजनिक भएपछि अन्य देशहरुमा पनि क्रमिक रुपमा लइजाने कम्पनीको भनाइ छ। यो विद्युतीय कारले आम उपभोक्ताको मन जित्ने विश्वास हुन्डाईको छ।

आयोनिक टू बजरामा आएपछि आम उपभोक्ताले खरिद गर्न सक्ने र यसले हुन्डाईको विद्युतीय कार बिक्री हिस्सामा ठूलै बढोत्तरी ल्याउने हुन्डाईले आंकलन गरेको छ।

परम्परागत कार उत्पादकहरुले पनि अबको केही वर्षभित्रै विद्युतीय कार मेनस्ट्रिम हुने बताउन थालेका छन्।

त्यसका लागि कम मूल्यका विद्युतीय कार आवश्यक पर्छ। सोहीकारण टेस्लासम्मले २५ हजार डलरको विद्युतीय कार बनाउने घोषणा गरिसकेको छ।

सबैजसो कार उत्पादकहरुले आम बजारका उपभोक्ताले खरिद गर्न सक्ने कम मूल्यका विद्युतीय कार बजारमा ल्याएपछि विद्युतीय कार नै मेनस्ट्रिम हुने निश्चितप्रायः छ।

हुन्डाईले विद्युतीय कारमात्र होइन फ्युल सेल ईभी उत्पादन तथा बिक्री सुरु गरिसकेको छ। त्यस्तै हुन्डाईसँग हाइब्रिड तथा प्लग इन हाइब्रिड कार केही मोडल उपलब्ध रहेका छन्।

आयोनिक टू २०२४ को अन्तिम वा २०२५ मा बजारमा आइपुग्ने अनुमान गरिएको छ। कम मूल्यको गेमचेन्जर आयोनिक टूका विशेषताबारे भने सार्वजनिक गरिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *