फस्टाउँदो कार डिटेलिङ्ग प्रविधि ?

आफुले चढेर हिंड्ने कारको जसलाई पनि माया हुनु स्वाभाविक नै हो । त्यसमा पनि पुरानो भैसकेको कारलाई बेच्न पनि नसकिरहेको र हेर्दा पुरानो देखिँदा चलाउन पनि मन नलाग्ने हुन्छ ।

नयाँ कार किने पनि धुलो, धुवाँ तथा दुषित पानीको कारण कारको रङ्ग चाँडै खुईलिँदा दिक्क लाग्नु पनि स्वाभाविक नै हो ।

त्यसको समाधानको लागि अहिले बजारमा आएको डाईमण्ड वा सेरामिक कोटिङ्ग उपयुक्त विकल्प हुन सक्छ ।

यस्ता कोटिङ्ग लगाईसकेपछि कारको बाहिरी रङ्गलाई निक्कै चम्काउनुका साथै पहिले रहेको ओरिजिनल रङ्गलाई समेत सुरक्षित राख्दछ ।

त्यसैले पनि आजकल पुरानो मात्र नभई नयाँ कार किनिसकेपछि शुरु मै यस्ता कोटिङ्ग लगाउनेको सँख्या बढिरहेको छ ।
डाईमण्ड कोटिङ्ग भनेको शिशाको तरल रुप हो जुन सिलिका र सिलिक्सेनबाट निर्माण हुन्छ ।

यो एकपटक हावाको सम्पर्कमा आएपछि सधैंको लागि कडा रुप लिन्छ ।

सेरामिक कोटिङ्ग एक किसिमको क्लियर कोट हो, जसमा लिक्विड पोलिमर हुन्छ ।

यी दुबै प्रविधिले कारलाई चम्काउनुको साथै सानो तिनो स्क्रयाच, धुलो, मैलो, खिया लगायतबाट बचाउँदछ ।

डाईमण्ड कोटिङ्ग अत्याधुनिक प्रविधि हो भने सेरामिक कोटिङ्ग अलिक पहिलेको प्रविधि भए पनि दुबैको बजार लगभग बराबर नै छ भन्न सकिन्छ ।

काठमाण्डौं तथा नेपालका अधिकाँश शहरी क्षेत्रमा पानीमा हुने अन्य केमिकलको कारणले पनि सवारीसाधनहरुमा रङ्ग खुईलिने वा रङ्गमा पहेँलोपन आउनाले पनि सवारीसाधनहरु चाँडै पुरानो देखिने गर्दछन् ।

यसकारणले पनि अहिले यस्ता कोटिङ्गहरुको चलन बढ्दै गएको बताउँछन् मोटर्स नेपालका अपरेटिङ्ग म्यानेजर अलिफ गुरुङ्ग ।

मोटर्स नेपालले विगत ४ बर्ष देखि ललितपुरको पुल्चोकबाट डाईमण्ड कोटिङ्गको काम गर्दै आईरहेको छ । हाल आएर उपत्यका बाहिरका प्रमुख शहरहरुमा पनि आफ्नो शाखा विस्तार गरेर काम गरिरहेको म्यानेजर गुरुङ्गले बताए ।

करिब ३ बर्ष अघिदेखि बसुन्धारामा सेरामिक कोटिङ्गको काम गर्दै आएको कारप्रोका सँचालक विवेक सापकोटा पनि आजभोली ग्राहकको माग बढेकोमा खुसी व्यक्त गर्दछन् ।

पहिलेको समयमा पुरानो भएको सवारीसाधनमा मात्र कोटिङ्ग गर्ने चलनमा परिवर्तन भएर अहिले नयाँ सवारीसाधन किन्नेवित्तिकै कोटिङ्ग गर्ने चलन भएको सँचालक सापकोटाले बताए ।

अहिले काठमाण्डौं उपत्यका लगायत अन्य प्रमुख शहरहरुमा पनि यस्तो कोटिङ्ग गर्ने व्यवसाय फस्टाईरहेको छ । कारमा मात्र नभएर मोटरसाईकलमा समेत कोटिङ्ग लगाउने चलन बढ्दै गएको पाईन्छ ।

मोटरसाईकलमा करिब ८ हजार रुपैयादेखि शुरु हुने यस्ता खालका कोटिङ्ग कारमा भने करिब २५ हजार रुपैंयादेखि मुल्य लिइने बताउँछन् व्यवसायीहरु । सवारीसाधनको साईज अनुसार मुल्य कम र वेसी हुने गर्दछ ।

तर बिचार गर्नुपर्ने के हुन्छ भने कतिपय व्यवसायीले कमसल रुपमा काम गर्ने हुुनाले विश्वासिलो ठाउँमा मात्र यसको काम गराउनु पर्ने हुन्छ ।

अन्यथा पहिले भएको रङ्ग समेतमा नराम्रो असर गर्न सक्ने कारप्रोका सँचालक सापकोटा बताउँछन् ।
– शंकर शर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *