टेस्लाले थाइल्यान्डमा पनि विद्युतीय कार उत्पादन प्लान्ट स्थापना गर्ने

अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्ला थाइल्यान्डमा प्लान्ट स्थापना गर्न सकारात्मक रहेको छ।

टेस्ला आफ्नो उत्पादन विश्वका धेरै देशमा पुर्‍याउन उत्पादन प्लान्ट विस्तारमा आक्रामक रुपमा लागेको छ।

थाइल्यान्डका प्रधानमन्त्री श्रेथा थाविसिनले हालै गरेको अमेरिका भ्रमणमा टेस्लाका सीईओ एलन मस्कसँगको भेटमा टेस्लाको उत्पादन प्लान्ट थाइल्यान्डमा स्थापना गर्न आग्रह गरेका थिए।

भेटमा सीईओ मस्कले उक्त प्रस्तावमा आफू सकारात्मक रहेको र त्यसबारे विचार गरिरहेको बताएका थिए।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्क गएका बेला थाविसिनले टेस्ला सीईओ मस्कससित अन्य प्रविधि कम्पनीका प्रमुखहरुसँग पनि भेटेका थिए।

थाइल्यान्ड फर्किएपछि थाविसिनले टेस्ला, माइक्रोसफ्ट र गुगलले ५ अर्ब डलर लगानी गर्ने भएको बताएका हुन्।

‘टेस्लाले ईभी उत्पादन प्लान्ट लगाउन निक्कै चासो दिएको र माइक्रोसफ्ट र गुगलले डेटा सेन्ट स्थापना गर्न चाहेका छन्,’ थाविसिनले भनेका हुन्।

टेस्लाले हालै कम्पनी स्थापना गरेर थाइल्यान्डमा यही वर्षदेखि टेस्लाका विद्युतीय कार बिक्री सुरु गरेको हो।

थाइल्यान्ड अटोमोबाइलका लागि राम्रो बजार हो। गत वर्ष थाइल्यान्डमा ७ लाख ५० हजार कार बिक्री भएको थियो।

२०२३ यो संख्या बढेर ९ लाखसम्म पुग्ने अनुमान गरिएको छ।

थाइल्यान्डमा बिक्री हुने कार त्यति महँगा छैनन्। टेस्लाका कार तुलनात्मक रुपमा महँगो हुने भएको र थाइल्यान्डमै उत्पादन हँदा त्यसको बिक्री बढ्ने अनुमान छ।

टेस्लाका कार थाइल्यान्डमा बिक्री हुन थालेकाले धेरैले यसबारेमा चासो दिएसँगै एलन मस्क पनि त्यहाँ प्लान्ट स्थापना गर्न सकारात्मक देखिएका हुन्।

थाइल्यान्ड अहिले नै पनि एसियाको अटोमोबाइल एसेम्बलको हब रहेको छ।

थाइल्यान्डमा विभिन्न कम्पनीका गरि वार्षिक २० लाख सवारी एसेम्बल हुँदै आएको छ।

टेस्लाले २०३० सम्म वार्षिक २ करोड विद्युतीय कार उत्पादन गर्ने लक्ष्य लिएको छ।

त्यसका लागि टेस्लाले दुई/तीन वर्ष भित्रै करिब १ दर्जन उत्पादन प्लान्ट स्थापना गर्न सुरु गरिसक्नु पर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *