१५औँ संस्करणको अटो सोमा अतिरिक्त सवा करोड रुपैयाँ बराबरको व्यापार हुने देखिएको छ ।
उसो त यो गाडी खरिद–बिक्रीमार्फत नभएर अटो सोमा उपस्थित अवलोकनकर्ता (भिजिटर) लाई टिकेट बेचेर आर्जन हुने पैसा हो ।
आयोजक नाडाकै अनुसार शनिबार बेलुकासम्ममा ६४ हजार ९ सय जना अवलोकनकर्ताले अटो सोको अवलोकन गरिसकेका छन् ।
प्रतिटिकेट २०० रुपैयाँ शुल्क तोकिएकोमा अनलाइनमार्फत काट्दा नाडाले २० प्रतिशत छुटको व्यवस्था गरेको छ ।
यस्तै विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरेकोमा १५० रुपैयाँ मात्र लाग्ने व्यवस्था नाडाले गरेको छ।
यसो गर्दा आयोजक नाडाले शनिबारसम्ममा मात्र अवलोकनकर्ताबाट करिब १ करोड ४ लाख रुपैयाँ उठाइसकेको छ ।
यद्यपि कुल अवलोकनकर्तामध्ये कम्तीमा २० प्रतिशत विद्यार्थी रहेको हुन सक्ने नाडाको भनाइ छ ।
‘६५ हजार अवलोकनकर्तामध्ये कति विद्यार्थी छन् र कति सर्वसाधारण छन् भन्ने हिसाब निकाल्न बाँकी नै छ । विद्यार्थीको सङ्ख्या २०–३० प्रतिशत हुन सक्छ,’ संयोजक बरालले रातोपाटीसँग भने ।
अन्तिम दिन आइतबार थप ८–१० हजार अवलोकनकर्ताहरूबाट थपिने टिकेट शुल्कबापत औसत १५ लाख रुपैयाँले नाडाको अतिरिक्त आम्दानी सवा करोडमाथि पुग्ने देखिन्छ ।