राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लाको सदरमुकाम सिमकोटमा चीनको बाटो हुँदै बस पुर्याइँदै छ।
देशका ७७ जिल्लामध्ये हालसम्म सडक सञ्जालले नछोएको एक मात्र जिल्ला सदरमुकाम हुम्लाको सिमकोट हो।
यात्रुलाई सेवा दिन चीनको बाटो हुँदै पहिलो चरणमा दुई बसवटा लगिँदैछ।
हुम्लाका व्यवसायी विजय लामाले बस सिमकोट पुर्याउन लागेका हुन्। चीनसँग जोडिएको रसुवाको केरुङ नाकाबाट चिनियाँ ट्रकमा राखेर बसलाई हुम्लातर्फ लगिएको हो।
सिमकोटसम्म राष्ट्रिय सडक सञ्जाल नपुगे पनि जिल्लाभित्र भने सडक खनिएका छन्। ती सडकमा साना जिप र ट्याक्टर चल्ने गरेका छन्।
तर तिनीहरूको भाडा महँगो भएकाले यात्रुको सहजताका लागि चीनको बाटो हुँदै बस सिमकोट पुर्याउन लागेको व्यवसायी विजय लामाले बताए।
चिनियाँ ट्रकमा लोड गरेर लगिएका बस चीनसँग जोडिएको हुम्लाको हिल्सा नाकासम्म पुर्याइनेछ।
त्यहाँबाट भने बसलाई सिमकोट पुर्याइनेछ। नेपालबाट बस लैजान सम्भव नभएपछि चीनको बाटो प्रयोग गरिएको हो। ‘सिमकोट आजसम्म राष्ट्रिय सडकसँग जोडिएको छैन’, व्यवसायी लामाले भने, ‘देशभित्रैबाट सिमकोट पुग्ने बाटो नभएपछि चीनको बाटो प्रयोग गरेका हौं।
चीनको सडकमा नेपाली नम्बर प्लेटका सवारीसाधन गुडाउन नमिल्ने रहेछ। त्यसैले हामीले चिनियाँ ट्रकमा राखेर बस हिल्सा नाकासम्म लैजाँदै छौं।
हिल्सासम्म लैजान ७ लाख रुपैयाँ भाडा तिरेका छौं।’
उनले मंगलबार बेलुकीसम्म बस सिमकोट पुग्ने जानकारी दिए।
उनका अनुसार हिल्साबाट ९० किलोमिटर टाढा रहेको सिमकोट पुग्न बसलाई ६ घण्टा लाग्छ। सिमकोट पुग्ने बसको इन्जिन भारतबाट ल्याएर बाँकी संरचना सुर्खेतमा निर्माण गरिएको हो।
बसमा २५ सिट रहेका छन्। दुबै बसको लागत करिब एक करोड रुपैयाँ रहेको सञ्चालक लामाले जानकारी दिए।
उनका अनुसार बसलाई सुर्खेतमा रहेको हिल्सा पब्लिक यातायात प्रालिमा आबद्ध गराइएको छ।
ट्याक्टर र जिपहरू सिमकोट–हिल्सा खण्डमा चलिरहेका छन्।
तर त्यहाँका नागरिकलाई महँगो भाडा तिरेर गन्तव्यमा पुग्नुपर्ने बाध्यता छ।
‘जिपले प्रतिव्यक्ति यो रुटमा पाँच हजार रुपैयाँसम्म भाडा लिन्छन्।
यो भाडा भनेको धेरै महँगो हो,’ लामाले भने, ‘स्थानीयले बस सेवा सञ्चालन गर्न सुझाव दिए, त्यहीअनुसार मैंले पहिलो चरणमा दुईवटा बस हुम्ला लैजान लागेको हुँ।’
उनले हुम्लाको भुगोल र सडकअनुसार २५ सिट भएका बस लगिएको भन्दै भाडा पनि स्थानीय नागरिकलाई सहज हुनेगरी तोकिने बताए।
बस पुगेपछि हुम्लाका नागरिकलाई जिल्लाभित्र यात्रा गर्न सहज हुने उनको भनाइ छ।
हाल हुम्लाबाट बाहिर जानका लागि एकमात्र विकल्प भनेको हवाई सेवा हो।
तर मौसमका कारण हवाई सेवा पनि नियमित नहुने समस्या छ। यसले गर्दा हुम्लाका नागरिकले प्रायः पैदल यात्रा गर्नुपर्ने बाध्यता छ।
हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्नका लागि वर्षौंदेखि प्रयास जारी छ।
सिमकोट जोड्ने कर्णाली करिडोरको निर्माणकार्य भइरहेको छ। जसअन्तर्गत कालीकोटको खुलालुदेखि सिमकोट जोड्ने सडकको नेपाली सेनाले निर्माण गरिरहेको छ।
कर्णाली करिडोरको खुलालुदेखि सिमकोटसम्मको सडकको दूरी १ सय ९६ किलोमिटर छ।
२०५६ सालमा शिलान्यास गरिएको कर्णाली करिडोर निर्माणको जिम्मा २०७१ सालमा सेनालाई दिइएको हो।
तर हुम्लाको सर्केगाड र खार्पुनाथ गाउँपालिकाको सिमानामा पर्ने थारे क्षेत्रमा कडा चट्टानका कारण निर्माणमा जटिलता भइरहेको हो।
थारे भिरको आठ किलोमिटर सडकमध्ये साढे चार किलोमिटर ट्र्याक खोल्ने कार्य निकै जटिल मानिएको छ।