देशभरका १५ सयभन्दा बढी पेट्रोलपम्प व्यवसायीको छाता संस्था पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनमा आबद्ध व्यवसायीहरू विभाजित भएका छन्।
एसोसिएनका अध्यक्ष लिलेन्द्र प्रधानले नेतृत्व गरेको कार्यसमितिले व्यवसायीको हक, हितमा काम गर्न नसकेको आरोप लगाउँदै धादिङस्थित निर्वेश्वर आयलका सञ्चालक केदारप्रसाद पाठकको अध्यक्षतामा ‘पेट्रोलियम व्यवसायी संघ नेपाल’ गठन गरिएको छ।
संघको तदर्थ समिति मात्रै गठन भएको र चाँडै देशभरका पम्प व्यवसायीलाई समेटेर अधिवेशन गर्ने तयारी भएको नवगठित संघका महासचिव आत्माराम थापाले जानकारी दिए।
उनी बनेपास्थित चामुण्डा आयलका सञ्चालक हुन्। डेढ वर्षअघि भएको एसोसिएसनको महाधिवेशमा थापा महासचिव पदमा उम्मेदवारी दिएर विश्व अर्यालसँग पराजित भएका थिए।
‘पम्प व्यवसायीको छाता संगठन भएर गर्नुपर्ने काम, कर्तव्य एसोसिएसनले गर्न सकेन।
वर्तमान कार्यसमितिको काम, कारबाहीलाई लिएर असन्तुष्ट हुने व्यवसायीको संख्या बढेपछि अर्को संगठनको आवश्यकता भएको हो,’ महासचिव थापाले भने।
तदर्थ समितिमा बागमती प्रदेशका व्यवसायी मात्रै समेटिए पनि अधिवेशनले संघलाई राष्ट्रियस्तरको संगठन बनाउने गरी कार्यसमिति चयन हुने उनले बताए।
‘हामीसँग देशभरका व्यवसायीहरू आबद्ध हुने क्रम बढेको छ। नयाँ संघमा कति साथीहरू आबद्ध हुनुहुन्छ भन्ने कुरा भोलि (बुधबार) यकिन रूपमा भन्न सक्छौँ,’ थापाले भने।
संघको पहलमा बुधबारदेखि मूल्य अभिवृद्धि कर (भ्याट) मा आधारित ट्रान्जिट बिमा पनि सुरु हुने उनले जानकारी दिए।
विगत ८ वर्षदेखि एसोसिएसनको नेतृत्व गरिरहेका अध्यक्ष प्रधानले भने सबै पम्प व्यवसायीको हितमा काम गरिरहेको दाबी गरे।
‘एसोसिएसनका तर्फबाट व्यवसायीको हक, हितलाई अधिकतम ध्यान दिएर काम गरिरहेका छौँ।
केही साथीहरूको असन्तुष्टि देखिएको छ। हामी समाधानका लागि पहल गर्नेछौँ,’ अध्यक्ष प्रधानले भने।