प्रत्येक महिनाको १ र १५ तारिखमा नयाँ मूल्य

नेपाल आयल निगम लिमिटेडले मंगलबार रातिबाट लागू हुने गरी प्रतिलिटर पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा समान १४ रुपैयाँले वृद्धि गरेको छ ।

मूल्यवृद्धिपछि काठमाडौंमा प्रतिलिटर पेट्रोल एक सय ७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल समान १ सय ६७ रुपैयाँ पुगेको छ ।

काठमाडौंको तुलनामा सुर्खेत र दाङमा प्रतिलिटर एक रुपैयाँ मूल्य सस्तो हुने गरेको छ भने तराईमा दुई रुपैयाँ ५० पैसा प्रतिलिटर सस्तो पर्ने गरेको छ ।

आयल निगमले व्यवसायीलाई छल्न मंगलबार रातिबाट लागू हुने गरी मूल्यवृद्धि गरेको हो ।

यसअघि १६ साउन दिउँसो इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट नयाँ मूल्य बढेर आउँदा पेट्रोलपम्प व्यवसायीले अस्वाभाविक तेल लगेर लाभ लिएका थिए ।

उनीहरूको गैरव्यावसायिक क्रियाकलाप रोक्न र निगमलाई संस्थागत नोक्सानी हुनबाट जोगाउन आइओसीबाट मूल्य आएकै दिन निगम सञ्चालक समिति बैठक बसेर सुटुक्क मूल्यवृद्धि गरिएको हो ।

आइओसीले १ देखि १३ तारिखको अन्तर्राष्ट्रिय बजारमूल्यको औसत निकालेर नेपाललाई नयाँ मुल्यसूची पठाएको छ ।

आइओसीले मंगलबार दिउँसो पठाएको नयाँ मूल्यसूचीमा पेट्रोल ३ रुपैयाँ ८५ पैसा र डिजेल ११ रुपैयाँ २५ पैसा बढेर आएको निगम प्रवक्ता मनोज ठाकुरले बताए ।

‘आइओसीबाट प्राप्त मूल्यमा निगमले अधिकतम ३ प्रतिशतसम्म नाफा राखेर उपभोक्ता मूल्य निर्धारण गर्ने गरी स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा आएको छ,’ ठाकुरले भने, ‘सोहीअनुसार मंगलबार राति १२ बजेपछि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरिएको हो ।’

आइओसीले प्रत्येक महिनाको १ र १५ तारिखमा नयाँ मूल्य पठाउने गरेको छ ।

१ तारिखमा सबै पेट्रोलियमको नयाँ मूल्य आउने गरेको छ भने १५ तारिखमा पेट्रोल र डिजेलको मात्र नयाँ मूल्य आउने गरेको छ ।

यसपटक पेट्रोल र डिजेलको मात्र नयाँ मूल्य आएकाले सोहीअनुसार नेपाली बजारमा मूल्य समायोजन गरिएको प्रवक्ता ठाकुरले बताए ।

निगमले गत ३१ असारदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेयता प्रत्येक १५ दिनमा आइओसीबाट नयाँ मूल्य पाउनासाथ नेपाली बजारमा समायोजन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *