Skip to content
सुदूरपश्चिमका पहाडी जिल्लामा पेट्रोलियम पदार्थको हाहाकार भएको छ ।
सातवटा पहाडी जिल्लाको लाइफलाइन सडकका रूपमा रहेको भीमदत्त राजमार्ग एक सातासम्म अवरुद्व भएपछि पेट्रोलियम पदार्थको हाहाकार भएको हो ।
पहिरोका कारण कैलालीको गोदावरी नगरपालिका–४, बुढीतोला क्षेत्रमा राजमार्ग अवरुद्ध भएको थियो ।
आइतबार साँझदेखि राजमार्ग आंशिक रूपमा सञ्चालन भए पनि पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर भने ल्याइएको छैन ।
राजमार्ग पूर्ण रूपमा सञ्चालनमा नआएको भन्दै इन्धनले लोड गरिएका ट्यांकर धनगढीमै थन्क्याइएको छ ।
डडेल्धुरामा उग्रतारा पेट्रोलपम्पका सञ्चालक नरबहादुर साँकीले धनगढीमा पर्याप्त इन्धन भए पनि राजमार्ग अवरुद्व हुँदा ल्याउन नसकिएको बताए ।
‘इन्धन लोड गरेर ट्यांकर धनगढीमा राखिएको छ,’ उनले भने, ‘सडक पूर्ण रूपमा सञ्चालन नहुँदा ल्याउन सकिएको छैन ।
नेपाल आयल निगम प्रादेशिक कार्यालय धनगढीका प्रमुख मोहन शाहले पनि अवरुद्व राजमार्गकै कारण पहाडमा पेट्रोलियम पदार्थको अभाव भएको बताए ।
‘धनगढीको डिपोमा पर्याप्त मात्रामा पेट्रोलियम पदार्थको मौज्जात छ,’ उनले भने, ‘राजमार्ग अवरुद् हुँदा पहाडका लागि लोड गरिएका ट्यांकर पठाउन सकिएको छैन ।’
पेट्रोलियम पदार्थको अभाव हुँदा सात पहाडी जिल्लाका बासिन्दा भने समस्यामा परेका छन् ।
डडेल्धुराको अजयमेरु गाउँपालिकाका स्थानीय वीरबहादुर एरले इन्धनको अभावले सवारीसाधन थन्क्याउनुपर्ने अवस्था आइसकेको बताए ।
‘यहाँका पेट्रोल पम्पले एक दिनका लागि मात्रै पुग्ने गरी इन्धन मौज्जात राख्ने गरेका छन्,’ उनले भने, ‘सात दिनसम्म इन्धन नआएपछि हाहाकार हुने नै भयो ।’