अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च विन्दुमा पुगेर सामान्य गतिमा वृद्धि हुन थालेको छ ।
पछिल्लो १५ दिनमा कच्चा तेलको भाउमा १.४२ डलर प्रतिब्यारेल वृद्धि भएको हो ।
आयल निगमले गत ३१ असारदेखि पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित प्रणाली लागू गरेका कारण अन्तर्राष्ट्रिय बजारभाउले नेपालमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ ।
इन्डियन आयल कर्पोरेसन (आइओसी)ले प्रत्येक १५ दिन (१ र १६ तारिख) मा आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाउने गरेको छ ।
नयाँ मूल्य प्राप्त हुनासाथ निगमले नेपाली बजारमा सोहीअनुसार समायोजन गर्न थालेको छ । जसकारण कच्चा पेट्रोलियमको अन्तर्राष्ट्रिय भाउबारे चासो बढ्ने गरेको छ ।
गत १ अगस्ट (१६ साउन)मा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ८४.९८ डलर प्रतिब्यारेल थियो ।
१४ अगस्ट (२९ साउन)मा सामान्य वृद्धि भएर ८६.४० डलर प्रतिब्यारेलमा कारोबार भएको छ ।
आइओसीले अन्तर्राष्ट्रिय बजारको दरभाउअनुसार आयल निगमलाई भोलि ३१ असारमा नयाँ मूल्य पठाउँदा केही बढेर आउने अनुमान गरिएको छ ।
तेल उत्पादक तथा निर्यातकर्ता देशहरूको संगठन (ओपेक)ले कच्चा तेलको मूल्यलाई उच्च विन्दुमा लगेर स्थिर राख्ने रणनीति लिएका कारण विश्भरका उपभोक्ताहरू महँगीको मारमा परिरहेका छन् ।
ओपेकको १९ साउनमा बसेको बैठकले समेत उच्च विन्दुमा पुगेको मूल्यलाई स्थिर राख्ने रणनीति सफल भएको निष्कर्ष निकालेको छ ।
सो बैठकले दोस्रो ठूलो तेल उत्पादक देश साउदी अरबले विश्वको तेल बजारलाई स्थिरता राख्ने प्रयासस्वरूप दैनिक १० लाख ब्यारेल उत्पादनमा कटौती गरिरहेको कार्यलाई प्रशंसा गर्ने निर्णय गरेको छ ।
साथै, आउँदो सेप्टेम्बर महिनादेखि रुसले समेत तीन सय केविडी तेल निर्यातमा कटौती गर्ने योजना बनाएको भन्दै तेलको मूल्य उच्च विन्दुमा स्थिर राख्न थप मद्दत मिल्ने ओपेकको भनाइ छ ।
ओपेकसहित अन्य देशको यस्तो रणनीतिले पेट्रोलियम पदार्थको मूल्यमा सुधार आउने देखिएको छैन ।
जसकारण नेपालमा पनि आगामी दिनमा पेट्रोलियमको मूल्य उकालो लाग्ने देखिन्छ ।
आयल निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्दै १६ साउनमा पेट्रोल नौ रुपैयाँ र डिजेल तथा मट्टीतेल समान सात रुपैयाँ प्रतिलिटरका दरले वृद्धि गरेको थियो ।
ग्यासको मूल्य भने प्रतिसिलिन्डर एक सय ३० रुपैयाँ घटाइएको थियो ।
१६ साउनमा पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गर्दा १ देखि १५ साउनसम्मको कच्चा तेलको भाउलाई आधार मानिएको थियो ।
त्यतिवेला कच्चा तेलको मूल्यमा औसत ८५.३४ डलर प्रतिब्यारेलको वृद्धि देखिएको थियो ।
तर, पछिल्लो १५ दिनमा भने कच्चा तेलको भाउ १.४२ डलर प्रतिब्यारेल मात्रै वृद्धि भएको छ ।
जसकारण नेपाली बजारमा सामान्य दरले मात्रै पेट्रोलियमको मूल्यवृद्धि हुने अनुमान गरिएको छ ।
आयल निगमका प्रवक्ता मनोज ठाकुरले पनि स्वचालित मूल्य प्रणाली कार्यान्वयन भएकाले अन्तर्राष्ट्रिय मूल्यले असर गर्ने बताए ।