नेपाल निर्माण व्यवसायी महासंघको तेस्रो चरणको आन्दोलन सुरु

नेपाल निर्माण व्यवसायी महासंघको दोस्रो चरणको आन्दोलन सकिएको छ ।

साउन २२ बाट सुरु भएको दोस्रो चरणको आन्दोलन शुक्रबार सकिएको छ ।

यस्तै, तेस्रो चरणको आन्दोलन आज अर्थात् आइतबारबाट सुरु भएको महासंघले जनाएको छ ।

तेस्रो चरणको आन्दोलन अन्तर्गत पहिलो दिन महासंघले सडक विभाग र सिँचाइ विभागमा ताला लगाई धर्ना दिने भएको छ ।

महासंघको दोस्रो चरणको आन्दोलनमा राजधानीमा जम्मा भएका देशभरका निर्माण व्यवसायीले सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालोपट्टी बाँधेर सिठ्ठी जुलुस गरेका थिए ।

महासंघले सात प्रदेश तथा ७७ जिल्लाबाट निर्माण व्यवसायीहरू जुलुसमा सहभागी गराएको थियो ।

महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा शुक्रबार महासंघ सचिवालय अनामनगरबाट सुरु भएको जुलुुस संसद् भवन नयाँ बानेश्वर अगाडि कोणसभामा परिणत भएको थियो ।

कोणसभामा वक्ताहरूले व्यवसायीका जायज माग तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

महासंघका अध्यक्ष रवि सिंहले दोस्रो चरणको आन्दोलन सकिँदा समेत व्यवसायीको माग पूरा गर्न राज्य उदासीन भएकाले आइतबारबाट तेस्रो चरणमा निर्णायक आन्दोलन थालेको बताए ।

व्यवसायीको अरबौं रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायी मैत्री ऐन नियम लागू हुनुपर्ने, निर्माण व्यवसायीको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्ने लगायतका माग राखी व्यवसायीहरू साउन १४ देखि निरन्तर आन्दोलनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *