पम्प व्यवसायीले धेरै तेल लगे

पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका केन्द्रीय पदाधिकारीलाई मंगलबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेलको मूल्य ठूलो अन्तरले बढ्ने अग्रिम जानकारी थियो ।

केही ठूला व्यवसायीलाई मंगलबार साँझ साढे पाँच बजे निगम सञ्चालक समिति बैठक डाकिएको सोमबार नै थाहा थियो ।

त्यसैले ठूला र पहुँच भएका व्यवसायीले मंगलबार बिहान नै तुलनात्मक रूपमा धेरै तेलका उठाए ।

केही मध्यमस्तरका पम्प व्यवसायीले भने दिउँसो मात्रे थाहा पाएपछि दोहोर्‍याई, तेहर्‍याई बढी तेलको माग गरेका थिए ।

मूल्य बढ्ने सूचनाका आधारमा व्यवसायीले धेरै तेल माग गर्न थालेपछि डिपो प्रमुखहरूले सामान्य अवस्थाको मागसँग तुलना गर्दै सोभन्दा बढी नदिने अडान राखेका थिए ।

निगमको कोसी प्रादेशिक कार्यालय प्रमुख पूर्ण रिजालका अनुसार बिहानदेखि बेलुकासम्मै पम्प व्यवसायीले अन्य दिनको भन्दा धेरै तेलको माग गरेका थिए ।

‘मूल्य बढ्ने अनुमानका आधारमा पम्प व्यवसायीले धेरै तेल मागेका थिए, तर धेरै हदसम्म कडाइ गरियो,’ उनले भने, ‘मागेजति कसैलाई तेल दिइनँ ।

तैपनि, अन्य दिनको भन्दा आज केही बढी वितरण हुन पुगेको छ ।’

डिपो प्रमुखले मागअनुसार तेल नदिएपछि पहुँच भएका पम्प व्यवसायीले केन्द्रीय कार्यालयका कर्मचारीलाई भनसुन गरी दबाब र प्रलोभन देखाएर डिपोबाट मनग्य तेल उठाएका छन् ।

डिपो प्रमुखहरूलाई केन्द्रीय कार्यालयका उच्च तहका कर्मचारीले फोन गरी पम्पले मागेजति तेल दिन दबाबसमेत दिएका थिए ।

व्यवसायीहरूले पनि मंगलबार मागेजति तेल नपाएको भन्दै गुनासो गरेका छन् । ‘पम्पले मागेजति तेल कुनै पनि डिपोले दिएनन् ।

यो राम्रो भएन,’ पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले भने ।

बढ्ने वेलामा मागेजति तेल नपाएका पम्प व्यवसायीले मूल्य घट्ने वेलामा भने डिपोबाट तेल नै नउठाएर बदला लिने भन्दै चित्त बुझाएर बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *