काठमाडौं – रक्सौल रेलमार्गको डिपिआरको मस्यौदा बुझायो

भारतले नेपाल–भारत (रक्सौल–काठमाडौं) अन्तरदेशीय विद्युतीय रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)को मस्यौदा नेपाललाई बुझाएको छ ।

नेपालको सुझाव लिने उद्देश्यसहित भारतले गत साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई उक्त रेलमार्गको डिपिआरको मस्यौदा बुझाएको हो ।

भारतीय कम्पनी कोंकण रले कर्पाेरेसन लिमिटेडले उक्त आयोजनाको डिपिआरको मस्यौदा नेपाललाई दिएको हो ।भारतले आफ्नै लगानीमा उक्त रेलमार्गको डिपिआर बनाएको हो ।

साथै, मन्त्रालयले उक्त मस्यौदा रेल विभागलाई समेत पठाइसकेको छ । अब मन्त्रालय, विभाग र विज्ञहरूले उक्त मस्यौदामाथि अध्ययन गरेर भारतलाई टिप्पणी तथा सुझाव पठाउनेछन् ।

त्यसका आधारमा भारतले अन्तिम डिपिआर नेपाललाई बुझाउनेछ ।

सम्झौताअनुसार भारतले गत चैत मसान्तभित्रै नेपाललाई अन्तिम डिपिआर बुझाउनुपर्ने थियो । तर, साढे दुई महिना ढिला गरेर भारतले डिपिआरको मस्यौदा मात्रै बुझाएको हो ।

नेपालले टिप्पणी तथा सुझाव पठाएर अन्तिम डिपिआर आउन थप समय लाग्ने देखिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले मस्यौदामा आवश्यक अध्ययन गरेर भारतलाई टिप्पणी तथा सुझाव पठाइने बताए ।

त्यसका आधारमा भारतले डिपिआरको अन्तिम फाइल पठाउने उनको भनाइ छ । ‘यससम्बन्धी डुकुमेन्ट (कागजपत्र) धेरै नै छ ।

अहिले असार मसान्तको चापले गर्दा त्यसमा अध्ययन गर्न पाइएको छैन,’ उनले भने, ‘यद्यपि, अब छिट्टै उक्त मस्यौदामाथि अध्ययन गरेर भारतलाई टिप्पणी तथा सुझाव पठाउनेछौँ । त्यसपपछि भारतले यसको अन्तिम डिपिआर पठाउनेछ ।’

मन्त्रालयका अनुसार डिपिआरमाथि आवश्यक अध्ययन गरेर सुझाव पठाउने काममा रेल विभागले नै नेतृत्व गर्नेछ ।

त्यसका लागि मन्त्रालयले विभागमा मस्यौदासमेत पठाइसकेको छ । रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले अब मस्यौदामाथि आवश्यक अध्ययन अघि बढाउने बताए ।

‘यद्यपि, मन्त्रालयबाट हामीकहाँ डिपिआरको मस्यौदा आइसकेको छैन । तर, मस्यौदा आएको विषयमा हामी जानकार छौँ,’ उनले भने, ‘त्यो प्राप्त भएपछि मस्यौदामाथि आवश्यक अध्ययन गरेर भारतलाई सुझाव पठाउनेछौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *