पछिल्लो एक वर्षमा विद्युतीय सवारीसाधन (इभी) उत्पादन अनुमान गरेभन्दा बढी भएको छ ।
दुई वर्षअघि अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) ले सन् २०३० सम्म इभी उद्योग वैश्विक बिक्रीको ७ देखि १२ प्रतिशत पुग्ने अनुमान गरेको थियो ।
तर, गत वर्ष नै करिब ८० लाख इभी बिक्री भएसँगै आइइएको अनुमान भंग भइसकेको छ । यो संख्या ०२१ को भन्दा ६८ प्रतिशतले बढी हो ।
अहिले आइइएले उक्त अनुमान संशोधन गर्दै सन् ०३० सम्म बेचिने प्रत्येक तीन सवारीसाधनमध्ये एउटा इभी हुने बताएको छ ।
सन् ०१८ मा एडिसन इलेक्ट्रिक इन्स्टिच्युट (इइआई) ले ०३० सम्म अमेरिकी सडकमा करिब एक करोड ८० लाखभन्दा बढी इभी चल्ने भविष्यवाणी गर्यो ।
तर, पछिल्लो अवस्थालाई हेर्दै इइआईले पनि अनुमान सच्याएर दुई करोड ६० लाख पुर्याएको छ ।
स्ट्यानफोर्ड युनिभर्सिटीका अर्थशास्त्री टोनी सेबाले इभीले ०३० सम्म तेल उद्योग समाप्त पार्ने घोषणा गरे ।
यस्तै ब्लुमबर्गले पनि यसैलाई दोहोर्याउँदै इभिसले वैश्विक तेल उत्पादनलाई संकटमा पुर्याउने बतायो ।
विश्वको ठूलो अटोमोटिभ सर्भिस र प्रविधि प्रदान गर्ने कक्स अटोमोटिभले इभीप्रेमीलाई उत्साहजनक र निर्मातालाई चिन्ताको विषय रहेको रिपोर्ट सार्वजनिक गरेको छ ।
इभी खरिद गर्दा सोचविचार गर्ने उपभोक्ताको रेकर्ड उच्च रहेको बताइन्छ । ५१ प्रतिशत उपभोक्ता अब नयाँ या प्रयोग भएको इभी खरिद गर्न चाहन्छन्, जुन ०२१ को ३८ प्रतिशतभन्दा बढी हो ।
साथै कक्सले यो वर्ष अमेरिकामा एक करोड इभी बिक्री हुनेसमेत प्रक्षेपण गरेको छ । यो संख्या ०२१ को भन्दा दोब्बर र सर्वाधिक हो ।
त्यसो त विश्वबजारमा इभीको आपूर्तिले बिक्रीलाई निरन्तर बढाई नै रहेको छ । तर, सूची जसरी सूची बढेको छ, त्यसअनुरूप बिक्री भने बढ्न सकेको छैन ।
गत वर्षलाई दाँजेर हेर्दा यो वर्षको दोस्रो त्रैमाससम्म पुग्दा इभीको औसत सूची ९२ हजार एकाइभन्दा माथि छ, जुन वार्षिक ३४२ प्रतिशको वृद्धि हो ।
सोही अवधिमा दैनिक आपूर्ति ९० दिनमा १६६ प्रतिशतले बढेको हुन सक्छ,’ कक्स अटोमोटिभका आर्थिक एवं उद्योग अन्तरदृष्टिका वरिष्ठ निर्देशक जेरेमी रोब भन्छन्, ‘बिक्रीको गति बढे पनि सूचीअनुसार बढ्न सकेको छैन ।’
लिगेसी अटोमेकर्सलाई दोष
इभी सेक्टरमा प्रतिस्पर्धा गर्न दिग्गज कम्पनी तँछाडमछाड गर्न सक्छन् । यसमा टेस्ला इंक एक मात्रै यसको दोषी भने होइन ।
कक्सको इस्टिमेटअनुसार यो वर्ष कम्तीमा र आगामी वर्ष थप ५० भन्दा बढी र अद्यावधिक इभी बजारमा लन्च हुनेछन् । यसमा पुरानो आइसिई वाहन निर्माता इभीको प्रतिस्पर्धामा आक्रामक देखिएका छन् ।
जिएम ठूलो स्वच्छ ऊर्जा लगानीकर्ता र पुराना वाहन निर्माता कम्पनीमध्ये एक हो , अहिले यसको उपस्थिति इभीमा बढी छ ।
गत वर्ष जिएमले अमेरिकामा इभी मात्रै ३९ हजार एकाइ डेलिभर गरेको थियो ।
यो वार्षिक ५७ प्रतिशत बढी हो । यो तथ्यांक जिएमको कुल बिक्रीको १.७ प्रतिशत मात्रै हो । यस्तो स्थितिमा टेस्ला इंकको एक करोडभन्दा बढी बिक्रीलाई जिएमले कम गर्न सक्दैन ।
तर, केही वर्षमा टेस्लाको अवस्था भने बदल्न सक्ने विशेषज्ञ बताउँछन् । जिएमका सिइओ मेरी बर्राले ०२२ देखि ०२४ को मध्यसम्म चार लाख इभी उत्पादन गर्ने घोषणा गरेका छन् ।
उनका अनुसार कम्पनीले ०२५ सम्म उत्तरी अमेरिकामा वार्षिक १० लाख इभी उत्पादन गर्न सक्षम हुनेछ । यसो भएको खण्डमा मात्रै जिएमले आगामी दुई वर्षमा टेस्लालाई उछिन्न सक्छ ।
०२२ को ‘कार वार्स’ रिपोर्टमा ०२५ सम्म इभीमा जिएम र फोर्डको हिस्सेदारी १५ प्रतिशत हुने अनुमान गरिएको छ ।
सोही अवधिमा टेस्लाको हिस्सा ७० बाट ११ प्रतिशतमा खुम्चिने बताइएको छ । एफ–१५० लाइटनिङ र सिल्भर्डो इभीले बजार हाँकिरहेका छन् । लाग्छ, टेस्ला आफ्नो बजार गुमाउन तयार छ ।
कारण, उल्लिखित दुवै पुराना वाहन निर्माता कम्पनीले आक्रामक रूपमा आफ्नो पोर्टफोलियो बढाएका छन् ।
इभी बजारमा हलचल ल्याउन जिएमले कैयौँ इभी र ब्याट्रीको परियोजनामा काम गर्दै छ । कम्पनीले पहिल्यैदेखि आफ्नो अल्टिमम ब्याट्री टेक्नोलोजीमा काम गरिरहेको छ ।
अल्टिमम एक लचिलो ब्याट्री हो, जसले उच्च ऊर्जा घनत्व, कम लागत र अधिक रेन्ज दिन्छ ।
यस्तै, जिएमले ब्याट्री घटक उत्पादन गर्न उत्खनन कम्पनी लिथियम अमेरिका नेभदामा साढे ६ करोड डलर लगानी गर्दै छ । यसबाट तीन वर्षपछि उत्पादन हुने अनुमान गरिएको छ ।
कम्पनीको लगानी नेभादामा ‘थ्याकर पास’ परियोजनामा उपयोग हुनेछ । यो अमेरिकाको ठूलो लिथियम संशाधन हो ।
यसैगरी ओहियो राज्यमा गत वर्षदेखि जिएमले ब्याट्री प्लान्ट सञ्चालन गरेको छ भने दोस्रो प्लान्ट टेनेसीमा खुल्ने बताइएको छ ।
कम्पनीले यसअघि नै ओहियो कारखानामा निर्मित ब्याट्री प्रयोग गरी केही इभीको बिक्री सुरु गरिसकेको छ ।
किफायती मोडल भएकाले यसको बिक्री पनि बढ्न सक्ने अनुमान गरिएको छ ।
समग्रमा जिएमले टेस्लाको तुलनामा वर्षान्तसम्म अमेरिकामा नौवटा इभी मोडल उपलब्ध गराउने योजना बनाएको छ ।