स्पेयर पार्टसमा छुट्टै कार्यविधि ल्याउँदै

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले साउन १ गतेदेखि कार्यान्वयनमा जाने तयारी वस्तुको आयातमा लेवलिङ प्रणालीको सन्दर्भमा चासो देखाएको छ ।

शुक्रवार अध्यक्ष डा. ध्रुव थापाको नेतृत्वमा गएको नाडाका प्रतिनिधिहरूले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई भेटी स्पेयर पार्टहरूको सन्दर्भबारे जिज्ञासा राखेका हुन् ।

साउन १ गतेदेखि पैठारी हुने तयारी माल बस्तु बजारमा बिक्री वितरणका लागि पठाउनुअघि त्यस्ता माल वस्तुको प्याकिङमा आयातकर्ता र बजार वितरकको पूरा विवरण भएको लेबल लगाएर मात्र पठाउनुपर्ने भन्ने विषयमा अटो स्पेयर पार्टस्हरुमा कार्यान्वयन कठिन हुने नाडाको भनाइ रहेको छ ।

छलफलमा अध्यक्ष थापाले सो व्यवस्था सम्बन्धमा जिज्ञासा राख्दै उल्लेखित विषय कुन क्षेत्रमा लागू गर्ने भनिएको हो ? प्रस्ट नभएको र अटोमोवाइल स्पेयर पार्टसका कतिपय वस्तुहरूमा यस्तो व्यवस्था लागु गर्न कठिनाइ हुने बताएका छन् ।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले त्यसको कार्यान्वयनमा आउने व्यवहारिक समस्या र अप्ठ्याराहरूबारे जिज्ञासा राखेका छन् ।

प्रति उत्तरमा महानिर्देशक पौडेलले विदेशबाट धेरै नक्कली सामान पैठारी भई आउने भएकोले वैद्य व्यवसायलाई प्रोत्साहित गर्न र तस्करी र चोरी पैठारीलाई निरुत्साहित गर्नकै लागि यस्तो व्यवस्था गरिएको बताए ।

उनले सो अटोमोबाइल्स स्पेयर पार्टस्हरुमा समेत लागू हुने बताए ।

अटोमोबाइल्स स्पेयर पार्टसका केही वस्तुहरूमा यस्तो व्यवस्था गर्न कठिनाइ हुने भए पनि यस सम्बन्धमा विभागले छिट्टै कार्यविधि समेत ल्याउन लागेको उनले जानकारी दिए ।

यसै अवसरमा महानिर्देशक पाैडेलले यसको सम्पूर्ण व्यवस्थापन स्वयं पैठारीकर्ता र डिलरले गर्नुपर्ने भएकोले साधारण खुद्रा व्यवसायीहरूलाई कुने अप्ठेरो र झन्झट नहुने समेत प्रस्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *