उपभोक्तालाई पेट्रोलियमको मूल्यमा राहत दिएन

नेपाल आयल निगमले ‘नाफाखोर चरित्र’लाई निरन्तरता दिँदै असार महिनामै तीन अर्बभन्दा बढी मुनाफा आर्जन गर्दा पनि उपभोक्तालाई पेट्रोलियमको मूल्यमा राहत दिएको छैन ।

आयल निगमले १ देखि १५ असारसम्म एक अर्ब ६५ करोड मुनाफा आर्जन गरिसकेको छ । त्यस्तै, १६ गतेदेखि असार मसान्तसम्म थप एक अर्ब ६० करोड रुपैयाँ मुनाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ ।

यसरी महिना मै तीन अर्ब २५ करोड नाफा गर्ने लक्ष्य राख्दा निगमले हवाई इन्धनमा सामान्य मूल्य घटाउनु बाहेक अन्य पेट्रोलियमको मूल्य स्थिर राखेको छ ।

आइओसीले निगमलाई प्रत्येक महिनाको १ र १६ तारिखमा तेल खरिदको नयाँ मूल्यसूची पठाउँछ ।

सोहीअनुसार शनिबार (१ जुलाई)मा पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य सामान्य दरमा बढाएर तथा ग्यासको मूल्य ठूलो दरले घटाएर पठाएको छ ।

निगमका अनुसार पेट्रोल ४१ पैसा र डिजेल २.२० रुपैयाँ प्रतिलिटर बढेर आएको छ भने ग्यासको मूल्य करिब एक सय ७० रुपैयाँ प्रतिसिलिन्डर घटेर आएको छ ।

विगतदेखि नै चर्को नाफा राखेका कारण पेट्रोल र डिजेलको मूल्य यसपटक सामान्य दरमा बढेर आए पनि निगमको नाफाको ग्राफ घट्न पाएको छैन ।

नयाँ मूल्यसूचीमा पनि निगमलाई पेट्रोलमा १२ रुपैयाँ, डिजेलमा १३ रुपैयाँ र निम्न वर्गीयले प्रयोग गर्ने मट्टीतेलमा २७ रुपैयाँ प्रतिलिटर नाफा छ ।

आन्तरिक वायुसेवाले प्रयोग गर्ने हवाई इन्धनमा २७ रुपैयाँ र अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाले प्रयोग गर्ने हवाई इन्धनमा ५७ रुपैयाँ प्रतिलिटर नाफा छ भने खाना पकाउने एलपी ग्यासमा वर्षाैँदेखि व्यहोर्दै आएको घाटा हटेर प्रतिलिटर करिब सात रुपैयाँ नाफा हुन थालेको छ ।

यति ठूलो दरमा नाफा भएकाले निगमले आगामी १५ दिनमा एक अर्ब ६० करोड मुनाफा गर्ने प्रक्षेपण गरेको प्रवक्ता मनोज ठाकुरले बताए ।

उनले निगमको ऋण र अन्य दायित्व फरफारक गर्न बाँकी नै रहेकाले तुलनात्मक रूपमा अलि बढी नाफा राख्नुपरेको जिकिर गरे ।

‘आइओसीको २४ अर्ब रुपैयाँ बक्यौता त करिब तिरिसक्यौँ । तर, सरकारको ऋण तिर्न बाँकी छ भने बक्यौता तिर्न विभिन्न कोषबाट प्रयोग गरेको रकमसमेत भर्पाई गर्नुपर्ने बाध्यतामा छौँ,’ उनले भने ।

सरकारबाट निगमले सात अर्ब ऋण लिएको र पाँच वर्षमा १० किस्ता गरेर तिर्ने सम्झौता छ । यो सम्झौताअनुसार पहिलो किस्ता ७० करोड निगमले बुझाइसकेको छ भने असार मसान्तमा थप अर्को किस्ताबापत ७० करोड बुझाउने ठाकुरले बताए ।

आयल निगमले विभिन्न दायित्व देखाएर पेट्रोलको मूल्य नघटाएको तीन महिना भइसकेको छ । निगमले अन्तिमपटक २० चैतमा पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घटाएर एक सय ७५ रुपैयाँ कायम गरेको थियो ।

त्यसयता बजारमा यही मूल्य कायम छ । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य पनि डेढ महिनाअघि निर्धारण गरेको एक सय ५५ रुपैयाँ प्रतिलिटर नै कायम छ ।

प्रत्येक भान्सामा अत्यावश्यक मानिएको खाना पकाउने एलपी ग्यासको मूल्य डेढ वर्षदेखि यथावत् (प्रतिलिटर १८ सय रुपैयाँ) कायम छ ।

कार्यकारी निर्देशक उमेशप्रसाद थानीले डेढ वर्षदेखि निगमको नेतृत्व लिएयता मुनाफालाई मात्रै ध्यान दिँदै आएका छन् । उनले यसबीचमा उपभोक्तामैत्री निर्णय गर्न सकेका छैनन् ।

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बक्यौता नरहेको अवस्थामा निगमले चर्को नाफा राखेर मूल्य नघटाउनु उपभोक्ताप्रति ज्यादती भएको बताए ।

उनले तुरुन्तै पेट्रोलियमको मूल्य नघटे आम उपभोक्ताले निगम घेराउ गर्नुपर्ने आवश्यकता रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *