कर्णाली करिडोरको शान्तिघाटदेखि रास्कोट नगरपालिका जोड्ने सडकको स्तरोन्नति र कालोपत्रे गर्न कर्णाली प्रदेश सरकारले तीन वर्षअघि साढे ३८ करोड रूपैयाँ बजेट छुट्यायो।
अघिल्लो वर्षको असारमा १२ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता पनि भयो। सम्झौताको एक वर्षमा दुईपटक सडकको शिलान्यास गर्नुबाहेक केही काम भएको छैन।
ठेकेदारले चार करोड ४० लाख लिएर गुमनाम भएका छन्। शान्तिघाटदेखि बडीमालीकासम्मको उक्त सडक कालोपत्रे गर्न केएस शनीदेव जेभीले पूर्वाधार विकास कार्यालयसँग २०७८ असार ३ गते ठेक्का सम्झौता गरेको थियो।
ठेक्का सम्झौताको पहिलो वर्ष निर्माण कम्पनीले रास्कोट नगरपालिकाका तत्कालीन उपप्रमुख मिमसरा बम र तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एउटै सडक दुईपटक शिलान्यास गरेका थिए।
‘दुई–दुई पटक सडक शिलान्यास भए पनि अहिलेसम्म काम हुन सकेको छैन,’ स्थानीय टीकाराज उपाध्ययाले भने, ‘ठेक्का सम्झौताको दुई वर्षमा केही काम भएको छैन। ’
सम्झौता झोलामा राखेर कोहलपुर बसेका ठेकेदार फर्केर नआएको स्थानीयको आरोप छ।
रास्कोट नगरपालिकाका मेयर धर्कराज शाही पोषणका अनुसार आफूले सडक कालोपत्रेको लागि पटक पटक खबदारी गर्ने गरेको बताए। उनले भने ठेकेदारलाई धेरै पटक भनियो अहिले पनि काम सुरु गर्छु मात्र भनिरहेको छ।