उपत्यकामै दिनहुँ हजाराैँ यात्रुहरू ठगिदैं

उपत्यकामा सार्वजनिक यातायात प्रयोगकर्ता हजारौँ यात्रुहरू दैनिक ठगिने गरेका छन् । सार्वजनिक यातायातहरूले यात्रुबाट नदेखिने गरी चर्को भाडा असुल्छन् ।

उपत्यका ट्राफिक प्रहरीले गरेको अध्ययनअनुसार उपत्यकामा  दैनिक कम्तीमा ६ हजार यात्रु ठगिने गरेका छन् ।

यसमध्ये अधिकांश यात्रुबाट मनलाग्दी भाडा असुलीमा ठगिने गरेका छन् ।

यसरी दिनदहाडै हजारौँ यात्रु ठगिँदासमेत नियमनकारी निकायहरू यातायात व्यवस्था विभाग, बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय र उपत्यका ट्राफिक प्रहरी कार्यालय मुकदर्शक बनेका छन् ।

हरेकजसो चोकमा उभिएका ट्राफिक प्रहरीले समेत क्षमताभन्दा बढी यात्रु ओसार्ने र बढी भाडा असुल्नेलाई कारबाही गरेको पाइँदैन ।

विभाग र श्रम रोजगार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातका साधनमा यात्रुहरूले पाएको समस्याबारे अनुगमन नै गरेको छैन ।

हाल भाडादर समायोजन, कार्यान्वयन, अनुगमनलगायत मुख्य जिम्मा प्रदेश सरकारलाई छ ।

तर, प्रदेश सरकारले यसबारे चासो नदिएकाले सहरी क्षेत्रको यातायात सेवा भद्रगोल र अस्तव्यस्त बनेको हो ।

पछिल्लो समय यातायात व्यवस्था विभागले पनि सवारीसाधनको अनुगमन गर्न छाडेको छ ।

सरकारी निकायको उदासीनताका कारण उपत्यकामै दिनहुँ हजाराैँ यात्रुहरू ठगिने गरेका छन् भने कोचाकोच भएर यात्रा गर्नसमेत बाध्य हुनुपरेको यात्रुहरूको गुनासो छ ।

‘उपत्यकाको सार्वजनिक यातायात भद्रगोल छ, समयमा बस आउँदैन, ओराल्दा सही ठाउँमा ओराल्दैनन्,’ भक्तपुर बालकोट बस्ने नरेन्द्र चुदालीले भने, ‘अझ भाडा पनि मनपरी लिन्छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *