भन्सार राजश्व २३ प्रतिशतले घट्यो

 भन्सार राजश्व घटेको छ, आयात घट्दा भन्सार मार्फत सरकारलाई प्राप्त हुने राजश्वमा भारी गिरावट आएको हो । ११ महिनामा भन्सार मार्फत हुने राजश्व दोहोरो अंकले घटेको छ ।

भन्सार बिभागले हालै सार्वजनिक गरेको चालु आवको जेठ मसान्तसम्मको वैदेशिक व्यापार सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।

चालु आर्थिक बर्ष २०७९/८० को ११ महिनामा भन्सार मार्फत सरकारलाई प्राप्त हुने राजश्व २३ प्रतिशतले घटेको छ ।

चालु आवको जेठ मसान्तसम्म आयातबाट सरकारले ३ खर्ब ४४ अर्ब ३ करोड २७ लाख रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

जुन गत आव सोही अवधीको तुलनामा १ खर्ब २ अर्ब ७६ करोड रुपैयाँले बढी हो ।

गत आवको सोही अवधीमा ४ खर्ब ४६ अर्ब ७९ करोड ३६ लाख राजस्व संकलन भएको थियो । तर, चालु वर्ष आयात घट्दा राजस्व संकलन पनि उच्चदरमा घटेको छ ।

गत आवभरमा भने आयातबाट सरकारलाई ४ खर्ब ८२ अर्ब ४३ करोड ७७ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।

आयात घट्दा नै यस्तो राजश्व संकलन घटेको हो । समिक्षा अवधीमा वस्तु आयात १६ प्रतिशतले घटेको छ ।

गत आवको जेठ मसान्तसम्म १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँको बस्तु आयात भएको थियो ।

तर, यसपाली त्यो भन्दा कम अर्थात् १४ खर्ब ८० अर्ब ९८ करोड करोड बराबरको वस्तु आयात भएको छ । गत आवभर भने १९ खर्ब २० अर्ब रुपैयाँको बस्तु आयात भएको थियो ।

पछिल्लो समय देखिएको आर्थिक संकटका कारण नेपालमा आयात बढ्न सकेको छैन । बाह्य क्षेत्रमा परेको चापलाई लक्षित गर्दै चालु आवको सुरुवाती महिनाहरूमा केही वस्तुहरूको आयातमा प्रतिबन्ध लगाइएको थियो । तर, पुसबाट सरकारले उक्त प्रतिबन्ध हटाए पनि आयात बढ्न सकेको छैन ।

विशेषगरि महँगी लगायतका कारण उपभोक्ताको क्रयशक्ति घटेको छ ।

त्यसले बजारमा वस्तुको माग घटाएको छ । यसरी बजारमा माग घट्दा आयात बढ्न सकेको छैन । त्यसको असर राजश्व संकलनमा पनि परेको छ ।

नेपाल सरकारको आम्दानी नै राजस्व संकलनमा निर्भर छ । त्यसमा पनि आयातमार्फत हुने राजस्वमै सरकारको आम्दानी बढी निर्भर छ ।

सरकारको कुल राजश्वमा ४० प्रतिशतदेखि ५० प्रतिशतसम्मको हिसा भन्सार राजश्वले ओगटेको हुन्छ ।

समिक्षा अवधीमा पनि यसको हिस्सा ४५.३२ प्रतिशत छ, यसरी आयात घट्नुलाई सकारात्मक रूपमा लिए पनि राजस्व संकलनमा प्रभावित हुने गरेको जानकारहरू बताउँछन् ।

भन्सार बिभागले भन्सार छली गर्न खोज्दा पक्राउ गरेका सामानलाई लिलामीमा विक्री गरेर पनि थप आम्दानी गर्छ, त्यो तथ्यांकमा भने यसमा समावेश छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *