फोर्डले सरकारबाट पायो ९.२ अर्ब डलर ऋण

अमेरिकी कार उत्पादक कम्पनी फोर्डले ९.२ अर्ब अमेरिकी डलर ऋण लिने भएको छ।

उक्त ऋण फोर्ड र दक्षिण कोरियाली ब्याट्री उत्पादक एसकेले विद्युतीय सवारी र ब्याट्री उत्पादनमा खर्च हुनेछ।

अमेरिकी उर्जा विभागबाट फोर्डका लागि ९.२ अर्ब डलर ऋण स्वीकृत भएको हो।

अमेरिकी राष्ट्रपति जो वाइडेनले विद्युतीय सवारीको उत्पादन बढाउन विभिन्न स्किमहरुको घोषणा गरेका छन्।

फोर्ड र एसकेले यसअघि नै विद्युतीय सवारी र ब्याट्री उत्पादनमा सहकार्य गर्ने सम्झौता गरिसकेका छन्।

सोहीअनुसार यी दुई कम्पनीले ३ वटा ब्याट्री उत्पादन प्लान्ट स्थापना गर्ने छन्।

तीन प्लान्ट मध्ये दुई वटा केन्टकी र एउटा टेनिसीमा स्थापना हुनेछ।

फोर्डले २०२१ मै दुई वटा राज्यमा ब्याट्री प्लान्ट स्थापना गर्ने घोषणा गरेको थियो।

त्यतिबेला फोर्डले यो परियोजनामा कुल ११.४ अर्ब डलर लगानी गर्ने बताएको थियो।

यो लगानी भइसक्ने फोर्ड विद्युतीय सवारीमा ठूलो लगानी गर्ने मध्ये पहिलो अमेरिकी कम्पनी हुनेछ।

फोर्ड १९०३ मा स्थापना भएको सवारी उत्पादक कम्पनी हो।

फोर्डले लिन लागेको ९.२ अर्ब ऋणका लागि विभिन्न सर्तहरु भने छन्। उक्त सर्त फोर्ड तथा उर्जा विभाग दुवैले पालना गर्नुपर्ने छ।

सर्तहरु पूरा हुँदा फोर्डले सबै ऋण बराबरको रकम खर्च गर्न असमर्थ हुने अनुमानसमेत गरिएको छ।

यो ऋण लगानी हुँदा दुई राज्यमा बन्ने ब्याट्री प्लान्टमा ५ हजार निर्माण रोजगारी सृजना हुनेछ।

समग्रमा फोर्डको यो परियोजनामा ७ हजार ५ सय जनाले रोजगारी पाउने उर्जा विभागले जनाएको छ।

अमेरिकी उर्जा विभागले एडमान्स्ड टेक्नोलोजी, भेहिकल म्यानुफ्याक्चरिङ लोन प्रोग्रामका लागि २५ अर्ब ऋण लगानी गर्ने बताएको छ।

यो कार्यक्रमबाट तेल खपत र कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान पुग्ने लक्ष्य रहेको छ।

फोर्डले २००९ मा सोही कार्यक्रम अन्तर्गत ५.९० अर्ब डलर ऋण लिएको थियो।

उक्त ऋण फोर्डले गत वर्ष चुक्ता गरेको थियो। फोर्डसँगै अर्को अमेरिकी कार उत्पादक कम्पनी जनरल मोटर्सले पनि यही कार्यक्रम अन्तर्गत २.५ अर्ब डलर ऋण लिन सहमत भइसकेको छ।

वाइडेन सरकारले २०३० सम्म पुग्दा अमेरिकामा बिक्री हुने नयाँ सवारीको ५० प्रतिशत विद्युतीय सवारी हुने लक्ष्य लिएको छ।

त्यही लक्ष्य भेट्नका लागि सरकारले विभिन्न कार्यक्रमहरु ल्याइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *