गत हप्ताका दुई समुद्री दुर्घटनाप्रति विश्वव्यापी मिडिया कभरेज र चासोमा स्पष्ट असमानता देखियो ।
दुईमध्ये एउटा दुर्घटनामा ग्रिसको तटबाट करिब ९२.६ किमि टाढा भएको एक माछा मार्ने जहाजको हो ।
जहाजमा ७५० भन्दा बढी व्यक्ति सवार थिए, जसमध्ये अधिकांश अझै बेपत्ता छन् र धेरैको बाँच्ने सम्भावना अब असम्भव बन्दै गएको छ ।
अर्को दुर्घटना पाँचजना मानिस बोकेको टाइटन नामको एउटा सानो पनडुब्बीसँग सम्बन्धित छ ।
क्यानडाको तटबाट करिब ६८५ किमि पर आन्द्र सागरमा हराएको यो पनडुब्बी यो आलेख लेख्दासम्म फेला परेको छैन ।
हराइरहेको टाइटनको खोजीमा अमेरिका र क्यानडाका तटरक्षक, फ्रेन्च उद्धार टोली, अमेरिकी रक्षा मन्त्रालय पेन्टागनसमेत सम्मिलित ठूलो सर्च–अभियान चलिरहेको छ ।
र, विश्वभरका मिडिया, त्यसमा पनि विशेष पश्चिमी मिडियामा यस पनडुब्बीप्रति ठूलो रुचि देखिएको छ ।
कत्तिले त पनडुब्बीको स्थितिबारे चौबिस घन्टा अपडेट गराइरहेका छन् ।
आप्रवासी बोकेको डुंगा दुर्घटनाबारे समाचार नआएको होइन, तर त्यसले आवश्यक महत्व पाएन ।
आखिरमा त्यो ‘बारम्बार नआउन चेतावनी दिँदादिँदै पनि युरोप नामको किल्ला प्रवेश गर्न जोखिमपूर्ण यात्रा गरिरहेका ‘अवैध’ खैरा मानिसहरू सवार अर्को एक डुंगा’ न थियो ।
ग्रिक तटरक्षक अहिले जहाज खतरा रहेको स्पष्ट सूचना पाएको घन्टौँपछि मात्र प्रतिक्रिया दिएको विषयमा विवादमा फसेको छ ।
टाइटन पनडुब्बीको उद्धार प्रयासमा लागिरहेको बहुराष्ट्रिय प्रयासविपरीत शरणार्थी सवार जहाजलाई थोरै मात्र मद्दत प्राप्त भएको थियो ।
ह्युमन राइट्स वाचले यस्ता घटनाबारे टिप्पणी गर्दै भनेको छ– ‘डुंगाले खतराको सूचना दिँदा पनि युरोपेली सीमा तथा तटीय गार्डका जहाजहरू ती नजिक गस्ती गर्दैनन् ।
खासमा युरोपेली तटीय गार्ड शरणार्थी सवार जहाजलाई अवरोध गर्न र फिर्ता गर्न हवाई निगरानी सञ्चालन गर्दछ, उद्धार गर्न होइन ।’
निजी स्वामित्वको साहसिक पनडुब्बीमा सवार पाँचजनामध्ये हरेकले त्यसको सवारीका लागि करिब अढाई लाख डलर तिरेका हुन सक्छन् ।
पनडुब्बीमा सवार पाँचजनामा एकजना बेलायती अर्बपति हमिस हार्डिङ पनि छन् ।
समाचारमा आएअनुसार हार्डिङबाहेक वाहनमा पाकिस्तानी मूलका ब्रिटिस व्यापारी सहजादा दाउद, दाउदका छोरा सुलेमान, फ्रान्सेली अन्वेषक पल–हेनरी नार्गोलेट । र, ओसनगेट नामक फर्मका प्रमुख कार्यकारी स्टकटन रस थिए ।
यता लिबियाबाट शरणार्थी बोकेर इटली जाँदै गरेको माछा मार्ने जहाजमा सवार साढे सात सयमध्ये आधाभन्दा बढी पाकिस्तानी थिए ।
अरू यात्रु सिरिया, लिबिया र अन्य उत्तर अफ्रिकी मुलुकका हुन सक्छन् ।
अनुहारविहीन र पहिचानविहीन हजारौँ विपन्न मानिस हरेक वर्ष जोखिम मोलेर युरोप प्रवेश गर्न खोज्छन् ।
सन् २०१४ यता यसमध्ये २५ हजारको भूमध्यसागरमा डुबेर ज्यान गइसकेको छ, सन् २०२२ मा मात्र १२ सयको ज्यान गएको थियो ।
पश्चिममा यति विशाल मानवीय क्षति मात्र खैरो अनुहार भएको मानिसको मृत्युको तथ्यांकमा बदलिएको छ ।
ती पनि हरेक हिसाबमा उच्च प्राविधिक उद्धार प्रयासका लागि योग्य छन् ।
तर, यथार्थमा भने उनीहरू ‘अवैध’का रूपमा अपराधीकरण भोगिरहेका छन् भने तिनका उद्धारकर्ताले अवैध शरण खोज्नेलाई सघाउने ‘मतियार’को आरोप पाउँछन् ।
यो असमानता किन ? यसको सीधा तर निराशाजनक जवाफ यही हुन्छ कि हामी यस्तो संसारमा बसिरहेका छौँ, जहाँ धेरैको जीवनभन्दा केही थोरैको जीवन महत्वपूर्ण हुन्छ, जुन असमानता भूराजनीतिक, वर्ग, जाति र जातीय रेखाबाट थप तीव्र हुने गर्छ ।
गरिब, कमजोर र युद्धपीडितको मृत्यु त्यति शोकयोग्य छैन, जति ‘अन्वेषक’ वा ‘साहसी’ भनेर चिनिने र महँगा निजी समुद्र यात्रा गर्ने धनाढ्य गोरा मानिसका लागि शोक गरिन्छ ।