वर्षाले कोरला नाका प्रभावित, भन्सारमै रोकिए १५० बढी कन्टेनर

भारी वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकका विभिन्न स्थानमा बाढीपहिरो र नदी कटान भएपछि चीनबाट पैठारी गरिएका मालसामान बोकेका कन्टेनर कोरलानाकास्थित न्हेचुङ भन्सारमा रोकिएका छन्।

गत शनिबार रातिदेखि परेको भारी वर्षाका कारण बेनी–जोमसोम–कोरला सडकखण्डका ४६ स्थानमा बाढीपहिरो तथा नदी कटानबाट क्षति पुगेको छ। सडक अवरुद्ध भएपछि उत्तरी कोरलानाकाबाट हुने निकासी तथा पैठारी व्यापार प्रभावित बनेको हो।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार कोरलानाकाबाट नेपाल भित्रिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर भन्सार यार्डमा रोकिएका छन्। तीमध्ये करिब ९० प्रतिशत कन्टेनरको भन्सार जाँचपास प्रक्रिया पूरा भइसकेको छ।

जाँचपास पूरा भए पनि सडक अवरुद्ध हुँदा कन्टेनरहरू गन्तव्यतर्फ पठाउन नसकिएको चुडालले बताए। भन्सारमा रहेका बाँकी कन्टेनरको जाँचपास प्रक्रिया पनि दुई दिनभित्र सकिने उनले जानकारी दिए।

तातोपानी र रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि चीनसँगको व्यापारका लागि कोरलानाका वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो। तर, कोरला जोड्ने सडक नै बाढीपहिरोका कारण अवरुद्ध भएपछि व्यापारिक गतिविधिमा थप असर परेको हो।

दसैँ–तिहार लक्षित मालसामान आयात हुने समयमा सडक अवरुद्ध हुँदा राजस्व संकलनमा समेत असर पर्ने भन्सार प्रमुख चुडालले बताए। उनका अनुसार गत भदौ १० गते रसुवागढी–केरुङ नाका बाढीका कारण बन्द भएपछि कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले दैनिक ३० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गर्दै आएको थियो।

भन्सार कार्यालयका अनुसार कोरलानाकाबाट दसैँ लक्षित तयारी सामानसँगै औद्योगिक कच्चापदार्थ, दैनिक उपभोग्य वस्तु, फलफूल, विद्युतीय सामग्री, लत्ताकपडा तथा विद्युतीय सवारीसाधन नेपाल भित्रिने गरेका छन्।

यस्तै, कोरला सडकखण्ड अवरुद्ध हुँदा करिब २०० विद्युतीय सवारीसाधन पनि गन्तव्यतर्फ जान नसकी रोकिएका छन्। सशस्त्र प्रहरी बल ३३ नम्बर गुल्म, जोमसोमका अनुसार तीमध्ये १०० भन्दा बढी विद्युतीय सवारीसाधन पाँच दिनदेखि जोमसोमबाट तल झर्न नसकी जोमसोम बसपार्कमै रोकिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *