पुल्चोकको पार्किङ हटाएर मेच र गमला राखियो

ललितपुर महानगरपालिकाले पुल्चोकस्थित रातो मत्स्येन्द्रनाथ रथ निर्माण गर्ने ठाउँको पार्किङ हटाएको छ ।

रथ निर्माण गर्ने खुला ठाउँमा पार्किङ गर्दा ओहोरदोहोरमा कठिन भएको भन्दै नगर प्रहरीले पार्किङ हटाएर गमला तथा मेच राखेको हो ।

वरिपरिका कार्यालयहरूले यस ठाउँमा पार्किङ गर्दै आएका थिए ।

‘जथाभावी अव्यवस्थित पार्किङ हटाएर इटा छापेर ब्यवस्थित पारेका छौं,’ ललितपुर महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेँथूले भने, ‘अब यहाँ आराम गर्नका लागि मेच राखिएको छ ।

यही ठाउँमा बटुवा थकान मेटन सक्छन् ।’ उनका अनुसार वडा नम्बर ३ ले त्यस ठाउँमा इँटा छापेको हो ।

पुराना गल्ली र सडकपेटीलाई व्यवस्थित र सहज बनाउन इँटा, ब्लक तथा ढुंगा छापिए पनि पछिल्लो समय त्यसमाथि सवारीसाधन गुडाउँदा बिग्रने र भत्कने गरेको छ ।

अब ललितपुर महानगरले ऐतिहासिक पाटन दरबार क्षेत्रआसपासमा सवारीसाधन निषेध गर्ने तयारी पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *