रोयल इन्फिल्ड एसेम्बली युनिटको स्थापना वीरगन्जमा

रोयल इन्फिल्डले नेपाली व्यापारिक घराना त्रिवेणी समूहसँगको सहकार्यमा नेपालमा नै मोटरसाइकल सम्पूर्ण रूपमा एसेम्बल गर्न सीकेडी युनिट सञ्चालन गर्ने घोषणा गरेको छ ।

मध्यम आकारको ९२५० सीसी देखि ७५० सीसीसम्मको मोटरसाइकलहरूमा रोयल इन्फिल्डले वीरगन्जमा एसेम्बली युनिटको स्थापना गरेको छ ।

भारतको तामिलनाडुमा रहेको रोयल इन्फिल्डको प्रमुख उत्पादन केन्द्र बाहेक विश्वको चार स्थान ब्राजिल, थाइल्यान्ड, कोलम्बिया र अर्जेन्टिनामा सीकेडी एसेम्बली युनिट खडा गरेको छ ।

नेपालमा बन्ने सीकेडी युनिट पाँचौँ हो । यस युनिटको स्थापनाले सार्क क्षेत्रमा नै आफ्नो व्यापार विस्तार गर्न मद्दत पुग्ने विश्वास कम्पनीको छ ।

पछिल्ला केही वर्षमा विश्वव्यापी रूपमा मध्यम आकारको मोटरसाइकलको विकास र विस्तार गर्ने हाम्रो प्रयास रहेको छ । अन्तर्राष्ट्रिय स्तरमा हामीले ठुलो सफलता पनि हासिल गरेका छौँ।

रोयल इन्फिल्ड अब बेलायत, कोरिया, अस्ट्रेलिया, न्युजिल्यान्ड जस्ता बजारहरूमा मध्यम खण्डका मोटरसाइकल ब्रान्डहरूमध्ये शीर्ष स्थानमा छ ’रोयल इन्फिल्डका सीईओ बी गोविन्दराजनले नेपालमा सीकेडी युनिटको उद्घाटन भएकोमा यसमा संलग्न टोलीलाई बधाई दिँदै कम्पनीको विश्वव्यापी महत्वकांक्ष बारे धारणा राख्दै भन्नुभयो ।

अन्तर्राष्ट्रिय बजार विस्तारको योजना स्वरूप नै नेपालमा व्यापार विस्तारको ठुलो सम्भावना देखेरै नयाँ सीकेडी युनिट खडा गरिएको उहाँले जानकारी दिनुभयो ।
रोयल इन्फिल्डका सुविधाजनक, भरपर्दो र उच्च टर्क भएका मेसिनहरू यहाँको सवारी शैली र कठिन भूभागका लागि उपयुक्त हुने विश्वास कम्पनीको छ ।

सीकेडी युनिटको उद्घाटन गर्न र नेपाली बजारका लागि नयाँ मोटरसाइकल लन्च गर्न काठमाडौँ आएका रोयल इन्फिल्डका सीसीओ यादवविन्द्र सिंह गुलेरियाले भन्नुभयो ‘आजको दिन नेपालको मोटरसाइकल बजारका लागि एउटा महत्वपूर्ण क्षण हो ।

त्रिवेणी समूहसँगको साझेदारीमा वीरगन्जमा सीकेडी युनिट सञ्चालन हुनु भनेको यो क्षेत्रमा बढ्दो सम्भावना तथा मोटरसाइकल चढ्ने समुदायप्रति हाम्रो प्रतिविद्धताको प्रमाण हो । ’उहाले भन्नुभयो ।

नेपालमा बजार विस्तार गर्ने हाम्रो प्रतिबद्धता अनुसार हामीले रिटेल नेटवर्कलाई १८ बाट बढाउँदै आगामी वर्षमा ३५ पुर्‍याउने लक्ष्य राखेका छौँ ।

यी ३५ वटा रिटेल नेटवर्कहरु विभिन्न ३० सहरमा विस्तार गर्नेछौँ । हामी विश्वस्त छौँ कि हामीले उपभोक्ताहरूको नयाँ जमातलाई आकर्षित गर्न सक्षम हुनेछौँ र नेपालमा मध्यम आकारका मोटरसाइकलको प्रयोग पनि बढाउन सक्छौँ ।’ गुलेरियाले स्पष्ट पार्दै भन्नुभयो ।

प्रति वर्ष २० हजारभन्दा बढी मोटरसाइकल तयार पार्न सक्ने क्षमतासहित वीरगन्जमा एक लाख वर्ग फिटमा फैलिएको अत्याधुनिक प्रविधियुक्त एसेम्बली युनिट तयार भएसँगै नेपालको बढ्दो माग पुरा गर्न सहज हुनेछ संस्थाले जनाएको छ ।

यस युनिटमा विशेष गरी नेपाली बजारका लागि शुक्रबार लन्च गरिएका नयाँ क्लासिक ३५० र स्क्र्याम ४११ को उत्पादन हुनेछ । यस स्थापनाको उद्देश्य नेपालको बढ्दो बजारलाई प्रोत्साहित गर्दै मध्यम आकारको मोटरसाइकलको प्रवद्र्धन गर्ने पनि हो ।

यसअघि भारत र विश्व बजारमा लन्च गरिएको क्लासिक र स्क्र्याम ४११ अब मोटरसाइकललाई प्रेम गर्ने नेपालीहरूका लागि नेपालमा नै उत्पादित हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *