आर्थिक वर्ष २०८०/८१ को बजेटले ठूला सीसी क्षमताका मोटरसाइकलमा लाग्दै आएको कर घटाएको छ । सरकारले जारी गरेको आर्थिक विद्येयक २०८० ले २५० सीसीभन्दा माथिका मोटरसाइकलमा लाग्दै आएको सडक निर्माण दस्तुर घटाएको हो ।
नेपालको पहाडी क्षेत्रको लागि उपयोगि मानिने २५० सीसी माथिका मोटरसाइकलमा सरकारले प्रति यूनिट ३० हजार रुपैयाँले सडक निर्माण शुल्क घटाएको हो ।
आर्थिक विद्येयक २०७९ मा सडक निर्माण दस्तुर ५० हजार रुपैयाँलाई घटाएर २० हजार रुपैयाँ बनाइएको हो ।
अब १५० सीसीदेखि २५० सीसीसम्मका मोटरसाइकल र २५० देखि ४०० सीसीसम्मका मोटरसाइकलमा लाग्ने सडक निर्माण शुल्क २ हजार रुपैयाँले मात्र फरक भएको छ ।
त्यस्तै, सरकारले यसअघि १ लाख रुपैयाँ सडक निर्माण दस्तुर लिँदै आएको ४०० सीसीभन्दा माथिको सेग्मेन्टमा पनि सडक दस्तुर घटाएको छ ।
अब १ लाख रुपैयाँको सट्टा मोटरसाइकलको मूल्यको १० प्रशिशत रकम सडक निर्माण दस्तुर बुझाउनु पर्ने छ ।
नाडा अटोमोवाइल अफ एशोसिएशनले दिएको सुझावमा पनि २५० सीसीदेखि ४०० सीसीसम्मका मोटरसाइकलमा लाग्दै आएको सडक निर्माण दस्तुर र अन्तःशुल्क घटाउन भनिएको थियो ।