२० वर्ष पुराना सवारीलाई पत्रुमा नलगे अब नवीकरण नहुने

 वाग्मती प्रदेश सरकारले प्रदेशभित्र सवारी तथा यातायात क्षेत्रको व्यवस्थापनका लागि पुराना सवारीलाई पत्रुमा लगेर विस्थापन गर्न लागिएको जनाएको छ ।

 वाग्मती प्रदेश अन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयका सचिव अस्मान तामाङले पत्रु बनाउनुपर्ने सवारीको संख्या प्रदेशमा ५ हजार बढी रहेको बताए ।

‘१४ सिट क्षमताका २० वर्ष पुराना माइक्रोबसको संख्या २ हजार ३ सय ८५ छ, जुन सबैभन्दा धेरै काठमाडौं उपत्यकामा गुड्छन्,’ उनले भने, ‘यस्ता पुराना माइक्रो र बसलाई रंगरोगन गरेर विभिन्न विद्यालयले विद्यार्थी बोक्ने गरेको पनि पाइयो, यसले दुर्घटनाको जोखिम बढाउँछ ।’

पुराना सवारी साधनले धुँवा धेरै फाल्ने भएकाले वातावरणीय दृष्टिकोण र कानुनत: पनि यी हटाउनैपर्ने उनको भनाइ छ । ‘२० वर्ष पुरा सवारीलाई पत्रुमा नलगे कानुनी रुपमा नवीकरण गरिने छैन, नवीकरण नभएपछि बीमा हुने छैन,’ उनले भने, ‘बीमा नभएपछि ती सवारी साधनमा जसले यात्रा गर्छ, उ असुरक्षित हुने छ ।’

पुराना सवारी दुर्घटनामा पर्दा गाडी नै छाडेर हिंड्ने गरेको पनि पाइएकाले यस्ता सवारीमा कडाइ गर्न लागिएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *