पछिल्ला दुई महिना बढ्दै गएको वस्तु आयात वैशाखमा घटेको छ । चैतमा चालू आवकै सबैभन्दा बढी एक खर्ब ४३ अर्बको आयात भएको थियो ।
त्यस्तै, फागनुमा एक अर्ब ३९ करोडको आयात भएको थियो । तर, वैशाखमा आयात घटेर एक अर्ब ३४ करोडमा सीमित भएको भन्सार विभागको तथ्यांक छ ।
विभागका अनुसार चालू आर्थिक वर्षको १० महिनामा १३ खर्ब ३५ अर्ब २७ करोडको वस्तु आयात भएको छ । यो गत आर्थिक वर्षको पहिलो १० महिनाको तुलनामा १६.७८ प्रतिशत कम हो ।
गत आर्थिक वर्षको १० महिनामा १६ खर्ब चार अर्बको वस्तु आयात भएको थियो ।
चालू आवमा आयातसँगै निर्यात पनि खस्किएको थियो । आर्थिक संकटका कारण निरन्तर घट्दै गइरहेको निर्यात व्यापार चैतमा बढेको थियो । चैतमा १३ अर्ब ४८ करोडको निर्यात भएको थियो ।
तर, वैशाखमा यस्तो निर्यात १२ अर्ब ६२ करोड रुपैयाँ कायम भएको छ । चालू आर्थिक वर्षको १० महिनामा एक खर्ब ३० अर्बको वस्तु निर्यात भएको छ ।
गत आर्थिक वर्षको यही अवधिमा एक खर्ब ७३ अर्बको वस्तु निर्यात भएको थियो । महँगी, उच्च ब्याजदरजस्ता कारण अर्थतन्त्र शिथिल बन्दै जाँदा वैदेशिक व्यापारसमेत प्रभावित भएको हो ।