पोखरा–रिडी सडक निर्माण गर्न छलफल

नेपालकै पर्यटकीय राजधानी पोखराबाट डाँडैडाडा पर्वतको सेतीबेणी हुँदै अर्को पर्यटकीय गन्तव्य गुल्मीको रिडीसम्म पुग्ने पोखरा–रिडी सडक निर्माणका लागि रुसले चासो देखाएको छ । रुसले पोखरालाई आसपासका पर्यटकीय गन्तव्य जोड्ने रिडी–पोखरा पर्यटकीय सडक निर्माणका लागि नेपाल सरकारसँग विस्तृत परियोजना प्रस्ताव मागेको हो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको हालै सम्पन्न रुस भ्रमणका क्रममा रिडी पोखरा सडक निर्माण गर्ने विषय छलफलमा उठेको थियो ।

अध्यक्ष तिमिल्सिनालाई नेपाल स्थित रुसी राजदूतावासले मे ४ मा पत्र लेख्दै यो सडक सहित १३ परियोजनामा सहयोग गर्ने गरी नेपाल सरकारबाट विस्तृत परियोजना प्रस्तावहरू अघि बढाउन आग्रह गरेको छ ।

रुस आग्रहपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जेठ २ को सचिबस्तरीय निर्णयबाट परराष्ट्र मन्त्रालयलाई रुस सँग थप कारबाही अगाडी बढाउन पत्राचार समेत गरेको छ ।

पोखराबाट–पामे–भदौरे–राम्जा–आर्थर–कार्किनेटा–लुंखु–उरामपोखरा–सेतीबेणी– रिडी पुग्ने सडक ५६ दशमलव २१८ किलोमिटर लामो छ ।

सडकको अधिकांश भागमा क ट्र्याक खुलिसकेको छ भने केही भागमा स्थानीय सरकारले कालोपत्रे समेत तगरेका छन् ।

पोखराबाट उत्कृष्ट पर्यटकीय गन्तव्यमा परेका पर्वतका पञ्चदासे, महाशिला, सेतीबेणी हुँदै रिडी सम्मको सडकलाई वैकल्पिक राष्ट्रिय राजमार्गको रूपमा आर्थिक वर्ष २०७७-०७८ को बजेटमा समेत समेटिएपछि अहिले काम भइरहेको छ । चालु आर्थिक वर्षमा पनि सडक डिभिजन पोखरा मार्फत २ करोड बजेट विनियोजन भएको छ ।

पामेदेखि पोखरा खण्ड र पर्वतको महाशिला गाउँपालिकामा काम भइरहेको सडक डिभिजन पोखराका इन्जिनियर उज्ज्वल शर्माले बताउनुभयो ।

सडक डिभिजन पोखराका अनुसार यो सडक नाली सहित ९ मिटर चौडा हुनेछ भने सडकलाई ५ मिटर चौडाइ मात्रै कालोपत्रे गरी दुवै तर्फ एक एक मिटरको साइकल लेन बनाउने तयारी छ ।

यो सडकमा १० देखि २० मिटर लम्बाईकाे साना पुलहरु १४ वटा बनाउनुपर्ने  छ भने २ देखि ६ मिटर सम्मका आरसिसी स्लाब ११ वटा मात्रै बनाउनुपर्छ । सबै सडकमा ह्युमपाइप कल्भर्ट २ सय १४ वटा छन् ।

पोखराबाट  डाँडैडाडा सेतीबेणी देखि  पोखरा सम्म  बन्ने भएकाले ठुला पुल तथा धेरै कल्र्भटहरु नपर्ने हुँदा यो सडक तुलनात्मक रूपमा सस्तो समेत पर्ने सडक डिभिजन पोखराले जनाएको छ ।

सडक निर्माणका लागि रुस सँग सम्झौता भएमा पोखराबाट डाँडैडाडा सेतीबेणी हुँदै रिडी सम्म  पक्की सडकमा पुग्ने पर्वतवासी र पर्यटकको चाहनाले मूर्तरूप लिने छ ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले रिडी देखि पोखरा सम्म दुई प्रदेश जोड्ने राष्ट्रिय राजमार्ग निर्माणको काम गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै आउनु भएको थियो ।

२०७० सालको संविधानसभा निर्वाचनमा समेत अध्यक्ष तिमिल्सिना पर्वतबाट उम्मेदवार हुँदा उक्त सडक पहिलो प्राथमिकतामा राखेर प्रतिबद्धतापत्र प्रकाशित गर्नुभएको थियो ।

सेतीबेणी देखि पोखरा सम्म डाँडैडाडा सडक बनाउँदा पुल बनाउन नपर्ने र रिडी, शालिग्राम, महाशिला, डहरे, पञ्चदासे र पोखरा जस्ता धार्मिक र पर्यटकीय क्षेत्र समेत पक्की सडक सञ्जालमा जोडिने भएकाले यसलाई पर्यटकीय सडकको रूपमा समेत विकास गर्न सकिने छ ।

पर्वतको सुदूर दक्षिणबाट मध्य भाग हुँदै उत्तर पूर्वी क्षेत्र जोडने सडक पर्वतको मेरुदण्ड समेत बन्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *