गत शुक्रबार गुल्मीको रेसुंगा विमानस्थलबाट पहिलो व्यावसायिक उडान भयो ।
चार दशकको जहाज चढ्ने सपना पूरा भएपछि गुल्मेली नागरिक खुसी नहुने कुरै भएन । अर्को उडान ठीक एक हप्तापछि आज भयो ।
रेसुंगा नगरपालिकासँग नेपाल वायुसेवा निगमले साताको दुईपटक अर्थात् मंगलबार र शुक्रबार उडान सम्झौता गरे पनि अहिले शुक्रबार मात्रै उडान हुने भएको छ । जसको कारण जहाजको टिकट पाउनै मुस्किल परेको छ ।
रेसुंगा नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले भने, ‘शुक्रबारको उडानका लागि ५४ जना भन्दा बढीले नगरमा टिकटका लागि आग्रह गरेका थिए ।
जहाजको सिट क्षमता १४ जनाको मात्रै छ । मंगलबार उडान नभएका कारण नगरले नागरिकलाई जवाफ दिन सकिरहेको छैन ।’
मालिका गाउँपालिका– ८ का दीपक केसीले जहाजलाई चाहिने यात्रु हुँदा पनि उडान रोक्नु दुःखद भएको बताए ।
उनले तीन साता अघि टिकट बुक गर्दा पनि नपाइने अवस्था भएकाले सबै कुराको व्यवस्थापन गर्न जरुरी रहेको बताए ।
‘जहाज हेर्ने मात्र भइयो । टिकट पाउन नसकिने रहेछ,’ उनले भने, ‘सम्झौता अनुसार हप्तामा दुई दिन नै जहाज सञ्चालन नहुँदा यात्रु मर्कामा परे ।’