काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न मितिमा हराएका २३वटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले बिहीबार धनीलाई हस्तान्तरण गरेको छ ।
एक कार्यक्रमका बीच कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले १२ वटा मोटरसाइकल र ११ वटा स्कुटर धनीलाई हस्तान्तरण गर्नुभएको हो ।
यो संगै चालु आर्थिक वर्षमा ४ सय २७ ओटा सवारी साधन ट्राफिक प्रहरीले धनिलाई जिम्मा लगाइसकेको छ ।

चालु आर्थिक वर्षमै ३० ओटा चोरीका २ पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ३४ जनालाई आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।
सवारी साधन हराएको भनी प्राप्त भएको निवेदनको आधारमा खोजी गर्ने क्रममा, केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाको सुकेधारा, दरबारमार्ग, बालकुमारी, जगाती, नयाँबसपार्क, मुलपानी, नेपालटार, नयाँबानेश्वर, ठिमी लगायतका स्थानमा दुईपाङग्रे सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि स्वयम् सवारी धनी बिशेष चनाखोका साथै सजक हुनुपर्ने र सवारी चालक थप जिम्मेवार बनि सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरु अवलम्वन गर्न तथा मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सम्पूर्णलाई अनुरोध गर्नु भएको छ ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३ र नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्नुका साथै नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।
Post Views: 310