काठमाडौं – टाटा मोटर्सको विद्युतीय कार नेक्सन ईभीको हाइ रेन्ज भर्सन नेक्सन ईभी म्याक्स आज मंगलबार ७:३०pm मा सार्वजनिक हुने भएको छ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेक्सन ईभीको लङ रेन्ज मोडल नेक्सन ईभी म्याक्स आज सार्वजनिक गर्ने तय गरेको हो।
कम्पनीले ल्याउने नेक्सन म्याक्स अहिले बिक्री भइरहेको प्राइम मोडलभन्दा हाइटेक र विशेषताहरुले भरिएको छ।
टाटा नेक्सन ईभी प्राइमको तुलनामा म्याक्स मोडल ठूलो ब्याट्री, धेरै रेन्ज र पावरफुल मोटरमा उपलब्ध रहेको छ।
टाटाले नेक्सन म्याक्समा ४०.५ किलोवाट आवरको ब्याट्री छ। साथै प्राइम मोडलको भन्दा ठूलो १०५ किलोवाट क्षमताको मोटर प्राप्त गरेको छ।
यसमा मल्टी रिजेनेरेटिभ ब्रेकिङ मोड उपलब्ध गराइएको छ। यसमा रहेको ब्याट्रीले सिंगल चार्जमा ४ सय ५३ किलोमिटर रेन्ज दिने एआरएआईले प्रमाणित गरेको टाटा मोटर्सले जनाएको छ।
एक्सजेड प्लस र एक्सजेड प्लस लग्जरी गरी दुईवटा भेरियन्टमा भारतमा सार्वजनिक भएको नेक्सन ईभी म्याक्स दुईथरी चार्जिङ अप्सनमा उपलब्ध छ।
यसमा स्ट्याण्डर्ड ३.३ र अर्को ७.२ किलोवाट क्षमताको दुई फरक अनवोर्ड चार्जर दिइएको छ।
नेक्सन ईभी म्याक्सलाई ३.३ किलोवाटको चार्जरले फुल चार्ज गर्न १५ देखि १६ घण्टा लाग्छ भने ७.२ किलोवाटको चार्जरले चार्ज गर्दा ६ घण्टामै फुल चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।
नेक्सन ईभी म्याक्समा प्राइम मोडलको भन्दा केही विशेषताहरु समेत थप गरिएको छ। यसमा पार्कमोड सहितको ईलुमिनेटेड गियर नव, इलेक्ट्रोनिक पार्किङ ब्रेक, एयर प्यूरीफायर, चारवटै चक्कामा डिस्क ब्रेक र कुल्ड सिट जस्ता विशेषताहरु थपिएका छन्।
त्यस्तै सुरक्षाका लागि म्याक्स ईभीमा ईएसपी तथा हिल होल्ड असिस्ट समेत थपिएको छ।