गजुरी गाउँपालिकामा निःशुल्क शववाहन सेवा

धादिङको गजुरी गाउँपालिकाले शववाहन सेवा सुरु गरेको छ। गाउँपालिका र पृथ्वी राजमार्ग क्षेत्रमा हुने दुर्घटनालाई लक्षित गरी गाउँपालिकाले शववाहन सेवा सुरु गरेको हो।

दुर्घटना वा अन्य कारणले मृत्यु भएका व्यक्तिको शव पोस्टमार्टम तथा अन्तिम संस्कारका लागि लैजान गाउँपालिकाले शववाहन सेवा सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीले बताए।

गजुरी गाउँपालिकावासीका लागि निःशुल्क शववाहन सेवा प्रवाह गरिने गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए। ‘आवश्यकता महसुस गरेर पालिकाले शववाहन सेवा सुरु गरेको हो,’ उनले भने, ‘मृतक गजुरी गाउँपालिकावासी भए पैसा पर्दैन। तर, गजुरी गाउँपालिकाभन्दा बाहिरका छन् भने प्रचलित जिल्ला दररेटअनुसार शुल्क लाग्नेछ।’

पृथ्वी राजमार्गको १५ किलोमिटर गजुरी गाउँपालिकामा पर्छ। राजमार्ग क्षेत्र भएका कारण दिनहुँजसो दुर्घटना भइरहन्छन्। ‘शववाहन नहुँदा विगतमा हामीले धेरै अप्ठ्यारा व्यहोर्‍यौँ,’ गाउँपालिका अध्यक्ष श्रेष्ठले भने, ‘अहिले पालिकामा पर्याप्त एम्बुलेन्स छन्।’

उनका अनुसार पालिकाले डेढ वर्षअघि किनेको बा.२झ ४३३३ नम्बरको एम्बुलेन्सलाई नै अहिले शववाहनको रूपमा प्रयोग गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *