पोखरा — पोखराबाट चिनियाँ सहरमा सिधा उडानका लागि पहल गरिदिन पर्यटन व्यवसायीले नेपालका लागि चिनियाँ राजदूत छन सोङ्सँग आग्रह गरेका छन् ।
पोखरा पर्यटन परिषद्को नेतृत्वमा राजदूतावास पुगेर व्यवसायीले अन्तर्राष्ट्रिय उडानका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।
राजदूतसँगको भेटमा परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले चिनियाँ लगानीमा निर्मित विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आउँदा द्विपक्षीय सम्बन्ध झनै सुदृढ हुने बताए ।
‘राजदूतावासले चिनियाँ सहर र पोखराबीच अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न कूटनीतिक पहल लिँदा यहाँको पर्यटन, उद्योग र व्यापारलाई सहयोग पुग्ने छँदै छ, चिनियाँ लगानीले पनि सार्थकता पाउँछ,’ श्रेष्ठले राजदूतसँग भने ।