काठमाडौं: हिजो सोमबार साँझ ९:१९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबइको विमानमा आगलागी भएको थियो ।
त्रिभुवन विमानस्थल खुल्नुअघि नियमित धावनमार्ग जाँच गर्ने क्रममा मंगलबार बिहान मरेको चरा भेटिएको छ । सोमबार राति फ्लाई दुबईको जहाजमा उक्त चरा ठोक्किएर आगो लागेको हुन सक्ने विमानस्थलका अधिकारीहरूले आशंका गरेका छन् ।
नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार धावनमार्गमा भेटिएको चरा भँगेरा भन्दा केही ठूलो आकारको रहेको छ । तर कुन प्रजातिको चरा हो भन्ने एकिन नभइसकेको उनले बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट १ सय ६८ यात्रु बोकेर सोमबार राति फ्लाई दुबईको जहाज कोटेश्वरतर्फबाट उड्दै गर्दा कोटेश्वरको आकाशमा विस्फोटको आवाजसँगै इन्जिनमा आगोको लप्का देखिएको थियो ।
नेपाली समय अनुसार राति दुई बजे उक्त जहाजले दुबईमा सफल अवतरण गरेको थियो। यो घटनाका कारण फ्लाई दुबई विमानको दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने समय एक घण्टा पछि धकेलियो ।