दोषीलाई कडाइका साथ कारबाही नगर्दा पेट्रोलियम पदार्थमा मिसावट र चोरीका घटना पटक–पटक दोहोरिने गरेका छन् ।
गत माघयता मात्रै पेट्रोलियम क्षेत्रमा ठूला चारवटा चोरी र मिसावटको घटना पुष्टि भइसकेका छन् । तर, आयल निगम व्यवस्थापनले संलग्न चालक र सहचालकलाई मात्रै कारबाही गर्ने गरेको छ । ढुवानीकर्ता र व्यवसायीलाई भने सामान्य कारबाही मात्रै गर्ने गरिन्छ ।
गत शुक्रबार आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवामा आएको लु२ख ४८३९ नम्बरको ट्यांकरमा तोकिएभन्दा तीन हजार तीन सय ८३ लिटर बढी पेट्रोल पाइएको घटनाले सबैलाई अचम्मित बनाएको छ ।
यसअघि ट्यांकरबाट तेल चोरेर कम आउने वा मिसावट हुने घटना देखिएका थिए । तर, यसपटक भने तोकिएभन्दा बढी तेल आउनुका साथै एउटै ट्यांकरमा तेल चोरी र मिसावटका दुईवटा घटना भेटिएका छन् ।
निगम प्रवक्ता मनोज ठाकुरका अनुसार २० हजार लिटर पेट्रोल लिएर आएको सो ट्यांकरको प्रत्येक चेम्बरको माथिल्लो भागमा थप ६–७ सय लिटर पेट्रोल भारतबाटै अनधिकृत रूपमा हालेर ल्याइएको प्रारम्भिक अनुमान छ ।