स्वदेशमै उत्पादन भएका सवारीसाधनलाई कानुनी दायरामा ल्याउन सरकारले पहल थालेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र यातायात व्यवस्था विभागका महानिर्देशक तथा व्यवसायीहरूसँग छलफल गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दर्ता प्रक्रिया सहज बनाउन निर्देशन दिएका छन् ।
स्वदेशमै उत्पादन भएको विद्युतीय मोटरसाइकल यात्रीलाई यातायात व्यवस्था विभागले दर्ता नगरेको भन्दै आलोचना भइरहेको थियो ।
आइतबार प्रधानमन्त्री दाहालले ट्विटमा पनि भनेका छन् ‘यात्रीलगायत नेपालमा उत्पादित सवारीसाधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको छु । सवारीसाधन दर्ता एवं स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने गरी तत्काल कानुनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारका मुख्यसचिवमार्फत सम्बन्धित निकायलाई निर्देशित गरेको छु ।’
प्रधानमन्त्री कार्यालयले बोलाएर स्वदेशमा उत्पादित मोटरसाइकल दर्ता प्रक्रिया अगाडि बढाउने विषयमा छलफल गरेको यात्री मोटरसाइकलका प्राविधिक निर्देशक ठाकुर पौडेलले जानकारी दिए ।
‘प्रधानमन्त्री कार्यालय र यातायात व्यवस्था विभागमा मोटरसाइकल दर्ताका विषयमा कसरी अगाडि बढ्न सकिन्छ भनेर छलफल भएको थियो,’ उनले भने, ‘तत्काललाई बीचको बाटो समातेर अगाडि बढ्ने गरी छलफल भइरहेको छ ।’
यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले पनि वैकल्पिक बाटो खोजिरहेको जानकारी दिए । ‘सवारीसाधन दर्ता हुनुपर्छ भन्नेमा दुईमत छैन, प्रधानमन्त्रीदेखि सबै निकाय सकारात्मक नै छौँ,’ उनले भने, ‘कसरी दर्ता गरेर वैधानिकता दिने भनेर छलफलमा जुटिरहेका छौँ ।’