काभ्रेपलाञ्चोक –अरनिको, बिपी र हेलम्बु राजमार्गमा गुड्ने मालवाहक सवारीलाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएपछि व्यवसायीले निर्माण सामग्री ढुवानी ठप्प पारेका छन् ।
तीन दिनदेखि ढुवानी रोक्ने चेतावनी दिँदै आएका उनीहरूले गए रातिदेखि ढुवानी ठप्प पारेका हुन् ।
गृह मन्त्रालयले जिल्लाका तौलपुल सञ्चालनमा ल्याउन परिपत्र गरेपछि गत मङ्गलबार यातायात व्यवसायी तथा सरोकारवालाको छलफलमा कार्यालयले बिहीबारदेखि अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिइएको थियो ।
यातायात व्यवस्था विभागको सात दशमलव पाँच घनमिटर निर्माण सामग्री बोक्न पाउने प्रावधानअनुसार ढुवानी भइरहेकामा भारमापन केन्द्र (तौलपुल)मा तौल लिँदा समय लाग्ने तथा प्रशासनले बोक्नुपर्ने तौलको यकिन नगरी दुःख दिएको कारण देखाउँदै व्यवसायीले ढुवानी रोकेका बताएका छन् ।
व्ययसायीले पनौती क्षेत्रबाट शुक्रबार रातिदेखि नै ढुवानी ठप्प पारेका थिए भने शनिबार राति अरनिको राजमार्ग, बिपी राजमार्ग र हेलम्बु राजमार्गका ढुवानी ठप्प पारेका हुन् । टिपरलाई दिउँसो ढुवानी गर्न प्रतिबन्ध लगाउँदै आइएको छ ।