पटक–पटक छलफल र निर्णय भएर पनि पूर्ण कार्यान्वयन हुन नसकेको सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानमा सरकारले फेरि कडाइ गर्ने भएको छ ।
सरकारले नम्बर प्लेटमा आधा नेपाली र आधा अंग्रेजी भाषा राख्ने गरी तयारी थालेको हो । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लिखित जवाफ पर्खिरहेको यातायात व्यवस्था विभागले जनाएको छ ।
नम्बर प्लेटको भाषामा विरोध भएपछि गत चैतमा बसेको मन्त्रिपरिषद् बैठकले सवारी तथा यातायात व्यवस्था ऐन ०४९ को अनुसूची २ लाई सच्याएर नेपालीमा पनि लेख्न पाउने निर्णय गरेको थियो ।
बैठकले नेपाली र अंग्रेजी दुवै भाषा प्रयोग गर्न सकिने निर्णय भएको छ । यससँगै इम्बोस्ड नम्बर प्लेट जडान गर्नेबारे तयारी अघि बढेको यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए ।
उनले सरकारले इम्बोस्ड नम्बर राख्नेबारे गरेको निर्णय राजपत्रमा प्रकाशित गरेपछि कडाइका साथ कार्यान्वयनतर्फ लागिने बताए । हालसम्म करिब ५० हजार सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान भएको छ ।
‘इम्बोस्ट नम्बर जडान योजना पूर्ण कार्यान्वयन हुन सकेको छैन,’ उनले भने, ‘अब सरकारले राजपत्रमा प्रकाशित गर्ने तयारी पनि गरिसकेको छ, यससँगै हामी कडाइ गर्छौँ ।’