फास्ट ट्रयाकको निर्माणको म्याद थपियो

सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं–तराई/मधेस द्रुतमार्ग निर्माण सम्पन्न हुने म्याद दुई वर्षका लागि थप गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, रक्षामन्त्री पूर्णबहादुर खड्कासहित मन्त्रीहरूको टोलीले ५ वैशाखमा द्रुतमार्ग अवलोकन गरेर फर्केपछि सोही दिन मन्त्रिपरिषद् बैठकले म्याद थपेको हो ।

०८१ पुससम्म द्रुतमार्ग सम्पन्न हुने लक्ष्य थियो । तर, कोरोना समयमा काम रोकिएका कारण हालसम्म पूरै खण्डमा ठेक्का लगाउन नसकिएको कारण देखाउँदै सेनाले म्याद थप्न प्रस्ताव गरेको थियो ।

‘काठमाडौं–तराई/मधेस द्रुतमार्ग आयोजनाको निर्माण अवधि ०८३ चैत मसान्तसम्म थप्ने निर्णय भएको छ,’ सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन् । मन्त्रिपरिषद्ले आयोजनाका लागि जग्गा प्राप्त गर्न स्वीकृतिसमेत दिएको छ ।

सेनाका अनुसार द्रुतमार्गको हालसम्मको भौतिक प्रगति २२.४४ प्रतिशत र वित्तीय प्रगति करिब २३ प्रतिशत छ ।

कुल ११ खण्डमा विभाजित द्रुतमार्गको खण्ड ८ देखि ११ सम्म ठेक्का लगाउन बाँकी छ । बाँकी खण्डको असारसम्म सम्झौता गरिसक्ने सेनाको लक्ष्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *