संखुवासभा — तुम्लिङटार विमानस्थललाई तुवाँलोले ढाकेकाले सातादेखि उडान अवरुद्ध भएको छ । गत सोमबारदेखि निजी क्षेत्रका विमानले उडान भर्न नसक्दा दैनिक सयभन्दा बढी यात्रुहरू अलपत्र परिरहेका छन् ।
भिजिबिलिटी कम भएपछि दैनिक उडान अवरुद्ध हुँदै आएको उक्त विमानस्थलले जनाएको छ ।
उक्त विमानस्थलमा कम्तीमा ३५ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । जहाजबाट उडान भर्न लागेका कोही यात्रु सडक मार्गबाट गन्तव्यमा पुग्ने गरेका छन् ।
कोही विमानस्थल खुल्ने दिन पर्खेर बसेका छन् । उडानका लागि हप्तौंअघि टिकट बुकिङ गरेर बसेका यात्रुहरूले अहिले धुलाम्य बाटोको यात्रा गर्नुपरेको छ ।
बढीजसो बिरामीहरू त्यसको मारमा परेका छन् । लामो यात्रा गर्नुपर्ने बिरामीको स्वास्थ्य अवस्था झन् बिग्रिने स्वास्थ्यकर्मीहरू बताउँछन् ।
तुम्लिङटार विमानस्थलमा बुद्ध एयर र गुण एयरको विमानले उडान भर्दै आएका छन् ।