अर्थमन्त्री महतले अटो व्यवसायीको समस्या सम्बोधन हुने

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थक वर्षको बजेटमार्फत् अटो व्यवसायीको समस्या सम्बोधन गर्ने आश्वासन दिएका छन्।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री डा. महतले यस्तो बताएका हुन्।

नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले अर्थमन्त्री डा. महतसँग भेट गरी अटोमोवाइल क्षेत्रका समसामयिक समस्या जानकारी गराएको थियो।

छलफलका क्रममा मन्त्री महतले आफू धेरै अप्ठेरो परिस्थितिमा मन्त्रालयको जिम्मा लिन आएको बताउँदै अटोमोबाइल व्यवसायीको समस्याको सम्बोधन गर्न नेपाल राष्ट्र बैंकसँग सल्लाह गर्ने र अटो व्यवसायीको समस्याको समुचित समाधान गर्ने बताए।

मन्त्री महतलाई उदृत गर्दै नाडाले भनेको छ, ‘कुन कुन विषयहरूमा अटोमोबाइल्स व्यवसायीहरूलाई समस्या परेको छ, त्यसबारे आउँदो बजेट सुझावमा समावेश गरी पठाई दिन आग्रह गर्दे मन्त्री डा. महतले त्यसको समुचित समाधानका लागि प्रयास गरिने आश्वासन दिनुभयो।’

भेटका क्रममा मन्त्री महतले अटोमोबाइल्स व्यवसायीले विद्युतीय सवारी साधन उत्पादन र बिक्रीमा यथोचित ध्यान दिन आग्रह समेत गरेको नाडाले जनाएको छ।

सो क्रममा नाडा अध्यक्ष ध्रुब थापाले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न त्यसमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुलमा थप छुट दिन अनुरोध गरे।

ध्रुव थापाले सवारी साधनहरूलाई सरकारले विलासिताको वस्तुमा वर्गिकरण गरी सोही अनुरुप नीतिहरूको निर्माण भईरहेको गुनासो गर्दे सवारी साधनलाई सो वर्गीकरणबाट हटाउन आग्रह गरे।

नाडा अध्यक्ष ध्रुव थापाले अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात् ७५ प्रतिशत नै कायम गरिनु पर्ने भन्दै भाडामा चल्ने सार्वजनिक महत्वका सवारी साधनहरू आम सर्वसाधारण जनताले प्रयोग गर्ने र त्यसले उसको दैनिक जीवनमा समेत प्रभाव पार्ने भएकाले त्यस किसिमका भाडामा चल्ने सार्वजनिक महत्वका सवारी साधनहरूमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुल घटाउनु आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *