खाँदबारी–नुम सडकखण्ड हरेक वर्ष सास्ती

संखुवासभाको सदरमुकाम खाँदबारीदेखि उत्तरी क्षेत्रको खाँदबारी—नुम सडकखण्डमा सर्वसाधारणले हरेक वर्ष सास्ती भोग्दै आएका छन् ।

उत्तर–दक्षिण कोसी राजमार्गको खाँदबारी—नुम सडकखण्डको ३९ किमि सडक कालोपत्रे गर्ने ठेक्का शर्मा शिवशक्ति जेभीले पाएको छ ।

२०७८ असार १७ गते शर्मा शिवशक्ति जेभीले ०८१ असार १७ गते काम सम्पन्न गर्ने जिम्मेवारीका साथ ठेक्का जिम्मा लिएको थियो ।

तर, २१ महिनाको अवधिमा २५ प्रतिशत मात्रै प्रगति भएको उत्तर–दक्षिण कोसी सडक योजनाका प्रमुख इन्जिनियर सबिन कोइरालाले बताए ।

निर्माण कम्पनीको काम गर्ने सुस्तता देख्दा कुनै हालतमा समयभित्र काम सम्पन्न नगर्ने सडकका कर्मचारीहरू नै बताउँछन् ।

निर्माण कम्पनीले अत्यन्तै सुस्त गतिमा काम गर्दा स्थानीयहरूले सास्ती भोग्नुपरेको हो । चैतको पहिलो साता दुई दिन लगातार पानी पर्दा खाँदबारी—नुम सडकखण्डको लबिङहिल–मानेभञ्ज्याङ, कोतेगाउँ—छयाङ्कुटी, गगने—चिचिला पाताल, देउराली—सुके पाताल र मुडे—नुम सडकको बेहाल भएको छ ।

सो सडकखण्डको करिब १० देखि १५ किलोमिटर सडक पार गर्न घन्टौँ लाग्छ ।

खाँदबारीदेखि किमाथांकाको दूरी एक सय ६२ किमि रहेको छ, उक्त सडकखण्डको काम उत्तर–दक्षिण कोसी सडक योजना कार्यालयले हेरिरहेको छ ।

खाँदबारी–थामसेर्कु १४ किमि, थामसेर्कु–कप्ताने १२ किमि र कप्ताने–नुम सडकको १३ किमि सडकका तीनवटा खण्डमा ठेक्का लगाएको छ ।

दुई अर्ब ६० करोडको ठेक्का शर्मा शिवशक्तिले एक अर्ब २७ करोडमा पारेर सम्झौता गरेको छ ।

सडक अवरुद्ध भएकै कारणले बिरामीले बाटोमै ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको चिचिला गाउँपालिकाका अध्यक्ष पासाङनुर्बु शेर्पाले बताए ।

‘सडकका कारण सर्वसाधारणले उपचार नपाएर मर्नुपर्ने अवस्था कहिलेसम्म ?

हामी सक्दो सहयोग गर्छौँ, बर्खामा पनि सहज रूपमा यातायातका साधन चल्नुपर्छ ।’ उनले भने, ‘यदि सहज रूपमा यातायातका साधन चल्ने वातावरण बन्दैन भने साना सवारीसाधनबाहेक अरुण तेस्रो प्रोजेक्ट कुनै पनि गाडी चल्न दिँदैनौँ, खास सडक बिगार्ने अरुण तेस्रोको मालवाहक सवारीसाधन हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *