ग्वार्कोमा सडक खनेर अलपत्र

सबैभन्दा बढी ट्राफिक जाम हुनेमा पर्छ, चक्रपथको ग्वार्को खण्ड । कार्यालय समय (बिहान र साँझ) मा जाम व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे पर्छ ।

त्यसैले विकल्पका रूपमा फ्लाईओभर निर्माण थालिएको छ । तर, माघ २८ यता यो खण्ड अस्तव्यस्त बन्दै आएको छ ।

फ्लाईओभर निर्माणका लागि भन्दै ८ लेनमध्ये बीचको चारलेन सडकमा माघ अन्तिमबाट सवारी आवागमन ठप्प पारिएको छ । त्यसमाथि सडक खनेर अलपत्र छाडिएपछि स्थानीय आक्रोशित छन् ।

अहिले सडक खनेर अलपत्र पार्नुबाहेक थप काम केही नभएको स्थानीय बताउँछन् ।

१५ वर्षदेखि ग्वार्को चोकमा हार्डवेयर पसल चलाउँदै आएका प्रशन्नमंगल जोशी सडक खनेर अलपत्र पार्नेबाहेक अन्य काम नहुँदा ट्राफिक जाम पहिलेभन्दा दोब्बर हुने गरेको बताउँछन् ।

‘सडक खनेर छाडिएको छ, अब कति महिनापछि ठेकेदार काम गर्न आउने हुन्, थाहा छैन,’ उनले भने, ‘काम गर्ने बेलामै सडक छेकेर खनेको भए हुन्थ्यो ।’

उनको पसल अघि साँघुरो सडक छ, त्यो सडकमा पनि अहिले सवारीसाधनको भीड लाग्छ । एकातिरको सवारी आवागमन रोक्नेबित्तिकै अर्कोतर्फ सवारीको ताँती लाग्छ ।

‘काम गर्ने नै हो भने अलिकति मात्र सडक खोस्रेर किन अलपत्र पारिएको हो ?,’ उनले प्रश्न गर्दै भने, ‘एकैचोटि काम गर्ने बेला सडक भत्काउन सकिँदैन थियो ? यो त काम देखाउन गरेजस्तो मात्र भयो ।’

उनले बन्द चारलेन सडक खोल्न अब वर्षौं लाग्ने आशंका गरे । ‘कार्यालय समयमा सबैभन्दा बढी ट्राफिक जाम यहीं हुन्छ, अब फेरि जाम थप्ने काम भएको छ,’ उनले भने, ‘विकल्प नखोजी फ्लाईओभरको काम थाल्दा समस्या भएको हो ।’ खोला किनारका करिडोर सडक खोल्न सके जाम धेरै कम हुने उनले सुझाव दिए ।

पछिल्लो समय बढेको ट्राफिक जामले व्यवसाय पनि प्रभावित बनेको उनी गुनासो गर्छन् । ‘जाममा परिन्छ भनेर पसलमा ग्राहक आउन मान्दैनन्,’ उनले भने, ‘जसले गर्दा व्यवसायमा केही प्रभाव परेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *