पाइप फुट्दा सवारी आवागमनमा समस्या

विद्युत् प्राधिकरण र मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का कारण उपत्यकाका सडक अस्तव्यस्त बनेपछि सडक विभागले सडक खन्न नै रोक लगाएको छ । प्राधिकरणले तार भूमिगत गर्ने नाममा भित्री सडक भताभुंग पारेर त्यसै छाडेको भन्दै सडक विभागले मुख्य सडक र फुटपाथमा काम गर्न रोक लगाएको हो ।

‘हामीले भित्री सडक र करिडोरमा काम गरिरहेका छौँ, तर मुख्य सडकमा तार भूमिगत गर्न सडक विभागबाट सहमति पाएका छैनौँ,’ विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘उहाँहरूले कालोपत्रे भएको मुख्य सडक खन्न दिन्नौँ भन्नुभएको छ ।’

पछिल्लो समय कतै मेलम्चीको पाइप फुटेको छ भने कतै कालोपत्रे सडक भत्काएर खाल्डाखुल्डी पारिएको छ । बिजुलीको तार भूमिगत गर्ने क्रममा उपत्यकाका अधिकांश सडक प्राधिकरणले पछिल्लो एक वर्षयता भत्काउँदै आएको छ ।

तार भूमिगत गरेर तत्कालै सडक मर्मत गर्नुपर्ने जिम्मा प्राधिकरणकै भए पनि कालोपत्रे सडक भत्काएपछि अस्तव्यस्त छाड्ने गरेको भन्दै सडक विभागले मुख्य सडक खन्न रोक लगाएको हो ।

असारयता कालोपत्रे गरेर चिटिक्क पारिएका फुटपाथ र सडकमा अहिले प्राधिकरणले डोजर र कामदार लगाएर भत्काइरहेको छ । आफ्नो काम गर्न सार्वजनिक सडक भत्काएर छाड्दा त्यसैले सडक प्रयोगकर्तालाई सास्ती भएको छ ।

हाल प्राधिकरणले उपत्यकाका भित्री र करिडोर सडक भत्काएको छ । ती ठाउँमा तार भूमिगत गरे पनि सडक मर्मत गरेको छैन । भत्काउनुपूर्व सडक जुन अवस्थामा थियो, तार भूमिगतपछि पनि सडकलाई त्यही अवस्थामा पु¥याउने सम्झौता प्राधिकरणले सडक विभाग र काठमाडौं महानगरपालिकासँग गरेको थियो ।

तर, आफ्नो काम सकेपछि प्राधिकरणले सडक कालोपत्रे नगरी छाड्ने गरेको छ । हाल तीनकुने हुँदै शंखमूल निस्कने बागमती करिडोर सडक प्राधिकरणले भत्काएर भताभुंग पारेको छ । यो सडक असारमा कालोपत्रे गरिएको थियो । पछिल्लो दुई महिनायता करिडोर सडकमा प्राधिकरणले काम थालेको थियो ।

तर, अधिकांश भागमा काम सकाए पनि सडकका खाल्डा पुरेको छैन ।

अनामनगरस्थित धोबीखोला करिडोरमा पनि प्राधिकरणले अर्को धराप बनाएको छ । तार बिछ्याउँदा प्राधिकरण टोलीले सडक नै अस्तव्यस्त पारेर छाडेको छ । धोबीखोला सडकमा तार भूमिगत गर्ने काम गरे पनि सडक भत्काएर छाडिएको छ ।

चाबहिल महाँकालस्थित विद्युत् प्राधिकरणले बिजुलीका तार भूमिगत गर्न सडक खनेको तीन महिना भयो । बिजुलीका तार भूमिगत गरेर सकिए पनि सडक व्यवस्थापन गरेको छैन । चाबहिलदेखि महाँकालसम्म केही भागमा खाल्डा टाले पनि त्यो टालटुले मात्रै छ ।

गत वर्ष डिभिजन सडक कार्यालय काठमाडौंले उपत्यकाका अधिकांश फुटपाथ पुनर्निर्माण गर्दै अपांगमैत्री बनाएको थियो । तर, विद्युत् प्राधिकरणले भत्काउँदा अहिले ती फुटपाथ बिग्रिएका छन् ।

हाल शान्तिनगर, बालुवाटारका भित्री गल्ली, चाबहिल, गौशाला, गैह्रीगाउँ, सामाखुसी क्षेत्र, टेकु, डल्लु, मन्डिखाटार, धापासी, गोगंबु, चक्रपथ, अनामनगरलगायत क्षेत्रका फुटपाथमा तार भुमिगत गर्न भत्काए पनि प्राधिकरणले व्यवस्थित बनाएको छैन ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठेकेदार कम्पनीकोे काम सफा र छिटो नभएकाले सडकमा अवरोध भइरहेको स्विकारे । उनले जहाँजहाँ तार भूमिगत गर्दा सडक वा फुटपाथ भत्काइएको त्यो बनाउने जिम्मा पनि प्राधिकरणकै रहेको बताए ।

उनका अनुसार हालसम्म उपत्यकामा १५ प्रतिशत सडक तथा फुटपाथमा तार भूमिगत पार्ने काम भएको छ । तर, मुख्य सडकमा भने प्राधिकरणले कामै सुरु गरेको छैन ।

प्राधिकरणले उपत्यकामा पाँचवटा आयोजनाअन्तर्गत प्राधिकरणले तार भूमिगतको काम गरिरहेको छ । महाराजगन्ज र रत्नपार्क क्षेत्रमा सबैभन्दा बढी काम भएको छ । त्यस्तै, कीर्तिपुर, भक्तपुर र ललितपुरअन्तर्गत पनि तार भूमिगतको काम भइरहेको छ ।

घिसिङका अनुसार प्राधिकरणले उपत्यकाबाहिर भरतपुर र पोखरामा पनि तार भूमिगतको काम सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *